अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने, ५ महिनाभित्र काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

ठूला सम्मेलन र सेमिनार गर्न अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक भएको बताउँदै उनले तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन् । लगानी सम्मेलनका बेला पनि प्रधानमन्त्री ओलीले यसको प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अघि बढाउन निर्देशन दिएका छन् । लगानी बोर्डको बिहीबार बसेको ३७ औं बैठकमा आगामी ५ महिनाभित्र निर्माण सुरु हुने गरी काम अघि बढाउन लगानी बोर्डलाई निर्देशन दिएका हुन् ।

ठूला सम्मेलन र सेमिनार गर्न अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक भएको बताउँदै उनले तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन् । लगानी सम्मेलनका बेला पनि प्रधानमन्त्री ओलीले यसको प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

लगानी बोर्डले लगानीकर्तालाई आयोजनामा प्रस्ताव गर्ने समय एक महिना बढाएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले लगानी सम्मेलनमा प्रस्ताव गरिएका परियोजनामा लगानीका लागि आवेदन दिने समय जेठको पहिलो सातासम्म बढाएको हो ।

लगानीकर्तालाई प्रस्ताव पेस गर्ने समय वैशाख ७ गतेसम्म तोकिएको थियो । बैठकले सम्मेलनका क्रमममा सरकारबाट प्रस्तुत गरिएका विभिन्न परियोजनामा लगानीका लागि प्रस्ताव गरिएका परियोजनाको अनुगमन तथा मूल्याङ्कन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका पूर्वाधार हेर्ने सचिवको संयोजकत्वमा ५ सदस्यीय संयन्त्र गठनको निर्णय गरेको बोर्डका प्रवक्ता बलराम रिज्यालले बताए ।

उनका अनुसार संयन्त्रमा भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा तथा जलस्रोत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र बोर्डबाट एक एक जनाको प्रतिनिधित्व हुने निर्णय भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनमा प्रस्तुत गरिएका परियोजनामा लगानीकर्ता छनौट र कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाउन सुझाएका थिए ।