मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख खन्डमा ५१ किलोमिटर कालोपत्रे हुँदै

दैलेखको पूर्वी खन्ड जाजरकोट सिमानादेखि भगवतिमाई गाउँपालिकाको मनघर हुँदै दैलेखको नारायण नगरपालिकाको सिमाना लोहोरेसम्मको २२ किलोमिटर मध्यपहाडी सडकमा कालो पत्रेको तयारी गरिएको हो ।

दैलेख । मध्यपहाडी राजमार्गको दैलेख खन्डमा पर्ने १२६ किलोमिटर सडकमध्ये ५१ किलोमिटर सडकको कालोपत्र गर्न तयारी भएको छ । दैलेखको पूर्वी खन्ड जाजरकोट सिमानादेखि भगवतिमाई गाउँपालिकाको मनघर हुँदै दैलेखको नारायण नगरपालिकाको सिमाना लोहोरेसम्मको २२ किलोमिटर मध्यपहाडी सडकमा कालो पत्रेको तयारी गरिएको हो ।

उक्त स्थानमा दुईओटा निर्माण कम्पनीले ठेक्का लिएका छन् । खुलेको ठेक्कामध्ये ४२ प्रतिशत रकम घटेर ३६ करोड ५ लाखमा ११.८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि शर्मा गजुरमुखिले काम लिएको छ । २०७७ असारमा काम सक्नुपर्ने भएपनि अहिले ५८ प्रतिशत काम सम्पन्न भैसकेको ईन्जिनियर तुलाराम शर्माले बताए । सोही क्षेत्रमा रमन के.एस.जेभीले १० किलोमिटर सडक कालोपत्रेका लागि ३९ प्रतिशत ठेक्का घटेर २८ करोड २४ लाखमा २०७४ असारबाट काम सुरु गरेको थियो ।

अहिले ६४ प्रतिशत काम सम्पन्न भैसकेको शर्माको भनाई छ । भगवतीमाई गाउँपालिकाभित्र परेको मध्यपहाडी सडकको विवाद समाधान भएसँगै कामले तीब्रता पाएको गाउँपालिकाका अध्यक्ष दानवहादुर थापाले बताए । ‘हामी आफैँ विवाद भएका स्थानमा पुग्यौं जनता र आयोजनाको बारेमा कुरा ग¥र्यौं केही स्थानमा समस्या थियो’ उनले भने, ‘त्यो समस्या समाधान गरेपछि पूर्वी क्षेत्रको काम छिटो भएको थियो र अनुगमन पनि प्रभावकारी भएको थियो ।’

दैलेख सदरमुकामको पश्चिम खण्डमा पर्ने रामाघाट लैनचौरको करिब १६ किलोमिटर र लैनचौर चगत्रा सडकको करिव १३.३ किलोमिटर सडक कालोपत्रेका लागि धमाधम काम भैरहेको छ । रामाघाट लैनचौरका लागि पप्पु हिमालयन जेभीले ३८ प्रतिशत ठेक्का घटेर ४७ करोड ७८ लाखमा काम लिएको छ । लैनचौर चगत्रा सम्म ३९ प्रतिशत ठेक्का घटेर ३० करोड ६१ लाखको काम रमन केएसले ठेक्का लिएको छ । उक्त क्षेत्रको काम पनि धमाधम भैरहेको ईन्जिनियर शर्माले बताए ।

दैलेख सदरमुकामको पूर्वी खन्डमा २ ओटा र पश्चिमी खन्डमा २ ओटा गरी ठेक्का स्वीकृत भएको ४ ओटा खण्डमा करिव ढेड अर्ब रकम बराबरको काम विभिन्न निर्माण कम्पनीहरु मार्फत भैरहेको छ । २०७७ असारमा काम सम्पन्न गर्नुपर्ने भएपनि यही अवस्थामा काम अगाडि बढेमा २०७६ सम्ममै काम सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ ।