अहिले वार्षिक तीन अर्बको नेपाली पश्मिना निर्यात हुँदै आएको छ । यो परिमाणलाई बढाउन सरकारले वार्षिक निर्यातको एक प्रतिशत रकम बजेटमार्फत विनियोजन गरेर प्रवर्द्धन गर्न सके निर्यातमा उल्लेखनीय सुधार आउने उद्योगीहरु बताउँछन् ।
काठमाडौं । सरकारले निर्यातको एक प्रतिशत रकम पश्मिनाको प्रवर्द्धन र विकासका लागि छुट्याउनु पर्ने उद्योगीले माग गरेका छन् ।
आगामी आर्थिक वर्षदेखि लागू हुने गरी पाँच वर्षसम्म पश्मिना निर्यातबाट प्राप्त रकमको कम्तीमा एक प्रतिशत रकम त्यसकै प्रवर्द्धन र विकासमा खर्च गर्न सरकारले बजेटमा व्यवस्था गरेमा निर्यात तीन गुणाले वृद्धि गर्न सकिने उद्योगीले ग्यारेन्टी गरेका छन् ।
अहिले वार्षिक तीन अर्बको नेपाली पश्मिना निर्यात हुँदै आएको छ । यो परिमाणलाई बढाउन सरकारले वार्षिक निर्यातको एक प्रतिशत रकम बजेटमार्फत विनियोजन गरेर प्रवर्द्धन गर्न सके निर्यातमा उल्लेखनीय सुधार आउने उद्योगीहरु बताउँछन् ।
निर्यातकै आधारमा एक प्रतिशतका दरले पाँच वर्षसम्म बजेट व्यवस्था गरेमा तीन गुणा अर्थात ९ अर्ब रुपैयाँबराबरको निर्यात बढाइने उद्योगीले दाबी गरेका छन् ।
निर्यातको आकार वृद्धि गर्न स्वदेशी कच्चा पदार्थ ‘भुवा’ प्रशोधन गर्न प्लान्ट बनाउन सरकारले सहयोग गर्दै एक प्रतिशत रकम निर्यात प्रवर्द्धनमा खर्च गर्ने व्यवस्था भएमा व्यापार घाटा कम हुने पश्मिना उद्योगीको भनाइ छ ।
निर्यातको एक प्रतिशत रकम निर्यात प्रवर्द्धन र विकासमा खर्च गर्न सकेमा तीन वर्षमा दुई गुणा र पाँच वर्षमा तीन गुणा निर्यात वृद्धि गर्न सकिने नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष दुर्गाविक्रम थापाले जानकारी दिए ।
‘फेक लेबलिङ’कै कारण नेपालको पश्मिना निर्यात ओरालो लागेको र यसलाई वृद्धि गर्न सरकारले प्रवर्द्धन र विकासमा खर्च गर्नुपर्ने उनले बताए । ‘पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा फेक लोगो र लेबलिङले उपभोक्ता ठगिएका छन्’ उनले भने, ‘त्यसका लागि पनि थप रकम छुट्याएर निर्यात प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ ।’ उनले नेपाली पश्मिनाको अन्तर्राष्ट्रिय व्यापार निकै राम्रो रहेको बताए ।
‘अहिले अन्तर्राष्ट्रिय बजारमा नेपाली पश्मिना निर्यातको राम्रो सम्भावना छ,’ उनले भने, ‘तर, मागअनुसार निर्यात बढाउनुपर्ने आवश्यकता छ । त्यसका लागि सरकारबाट सहयोग हुनुपर्छ ।’
अहिले, नेपालका पश्मिना उद्योगको वार्षिक कारोबार छ अर्ब रुपैयाँबराबारको छ । नेपाल घुम्न आउने पर्यटकले आफ्नो देश फर्कंदा तीन अर्ब रुपैयाँको पश्मिना लैजाने गरेको नेपाल पश्मिना उद्योग सङ्घले जनाएको छ ।
स्वदेशमै उत्पादित कच्चा पश्मिना प्रयोगमा ल्याउन नसकिएको थापाले बताए । पश्मिनाको कच्चा पदार्थ, ‘भुवा’ नेपालको १४ ओटा हिमाली जिल्लामा उत्पादन हुने सम्भावना रहे पनि अहिले तीन ओटा जिल्लामा मात्रै उत्पादन हुँदै आएको छ । उत्पादनको सम्भावना रहे पनि सरकारी र निजीक्षेत्रको समन्वय नहुँदा पश्मिनाको उत्पादन र निर्यात बढाउन सकिएको छैन । करिब १५ टन पश्मिना नेपालमा उत्पादन गर्न सकिने सम्भावना छ । तर, नेपालमै वार्षिक १५० टन जति पश्मिना खपत हुने अनुमान रहेको सङ्घले जनाएको छ ।
पश्मिना उद्योगको विकास र व्यापार घाटा कम गर्न सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालको तर्क छ । उनले निजी क्षेत्रको लगानीका उद्योग तथा व्यापारीलाई इन्सेन्टिभ र उत्प्रेरणा दिँदै उत्पादन र निर्यातको जिम्मा पनि निजी उद्योगलाई नै दिनुपर्ने बताए ।
सङ्घले अहिले विभिन्न ४७ देशमा च्याङ्ग्रा पश्मिनाको ट्रेडमार्क गरी नवीकरण गरिसकेको छ । पश्मिनाको ट्रेडमार्क र गुणस्तरका बारेमा खरिदकर्ता उपभोक्तासमक्ष व्यापक प्रचारप्रसार र प्रवर्द्धन गर्नुपर्छ । त्यसका लागि व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रलगायत सम्बन्धित निकायले समन्वय गर्ने सङ्घले जनाएको छ । गत वर्षदेखि छिमेकी चीनसँग वार्षिक पाँच लाख थान नेपाली च्याङ्ग्राको पश्मिना निकासी गर्ने सम्झौता भएको छ ।
सङ्घले प्रशोधन उद्योग स्थापना गर्न तीन अर्ब ५० करोड रुपैयाँ लगानी सहयोग गर्न आग्रह गरेको छ । सङ्घको १८ औं वार्षिक साधारणसभा कार्यक्रममा उद्योगमन्त्री मातृकाप्रसाद यादवले नेपाली पश्मिना उद्योगको प्रवर्द्धन र विकासमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै जाने बताए । सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै मन्त्री यादवले किसान, उद्योगी र निजीक्षेत्रले पनि जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।