३ ओटा वाणिज्य बैंङ्कले बजारबाट ७ अर्ब उठाउँदै, कुनले कति ?

नेपाल इन्भेष्टमेन्ट बैंङ्क, नेपाल बंगलादेश बैंङ्क र माछापुच्छे बैंङ्कले ऋणपत्रबाट संकलन हुने रकम कर्जा लगानी र तरलता व्यवस्थापनमा प्रयोग गर्ने जानकारी दिएका छन् ।

काठमाडौं । विभिन्न ३ ओटा वाणिज्य बैंङ्कले लगानीयोग्य पुँजी जुटाउन ७ अर्ब रुपैयाँ बजारबाट उठाउने भएका छन् । बैंङ्कहरुले ऋणपत्र (डिवेञ्चर) निष्कासन गरेर सो रकम उठाउन लागेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंङ्क, नेपाल बंगलादेश बैंङ्क र माछापुच्छे बैंङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ७० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।

बैंङ्कहरुले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डबाट स्वीकृति पाउनसाथ निष्कासन गर्ने बैंङ्कहरुले जानकारी दिएका छन् । ४ अर्ब २० करोड रुपैयाँ संस्थागत लगानीकर्ताबाट र २ अर्ब ८० करोड सर्वसाधारणबाट उठाउने छन् । कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थागत लगानीकर्तालाई छुटटइएको छ ।

नेपाल इन्भेष्टमेन्टले २ अर्ब, नेपाल बैगलादेशले २ अर्ब र माछापुच्छेले ३ अर्ब रुपैयाँ बजारबाट उठाउने भएका छन् । इन्भेष्टमेन्टले वार्षि १०.५ प्रतिशत ब्याज दिने छ । ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्र २०८२ मा फिर्ता हुने छ । नेपाल बंगलादेशले वार्षिक १०.२५ प्रतिशत दिने गरी १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । उसको ऋणपत्र २०८५ मा फिर्ता हुने छ । माछापुच्छेले पनि वार्षिक १०.२ प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको बैंङ्कले जानकारी गराएको छ ।

नेपाल इन्भेष्टमेन्टको ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड, बंगलादेशको नविल इन्भेष्टमेन्ट बैंङ्किङ्ग लिमिटेड र माछापुच्छ्रेको एनएमबी क्यापिटल लिमिटेड रहेका छन् । ३ वर्षदेखि निरन्तर लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) भएपछि बैंङ्कहरुले ऋणपत्र निष्कासन गरेर स्रोत जुटाउन थालेका हुन ।

ऋणपत्रबाट संकलन हुने रकम कर्जा लगानी र तरलता व्यवस्थापनमा प्रयोग गर्ने बैंङ्कहरुले जानकारी दिएका छन् । बैंङ्कहरुले ऋणपत्र निष्कासन गरेपनि बिक्री हुन गाह्रो परेको छ । पछिल्लो समयमा विभिन्न बैंङकहरुले निष्कासन गरेका ऋणपत्रहरु बिक्री हुन सकेका छैनन् । ग्लोबल आर्ईएमई बैंङ्क र एनआईसी एसिया बैंङ्कले निष्कासन गरेको ऋणपत्र मात्र बिक्री भएका छन् । सानिमा, सिद्धार्थ बैंङ्कले निष्कासन गरेका ऋणपत्र पुरै बिक्री नभई निष्कासन बन्द भएका छन् ।

साउनयता एनआईसी एसिया, सानिमा, सिद्धार्थ, ग्लोबल आईएमी, सनराइज बैंङ्कले १५ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ५५ लाख ८० हजार कित्ता निष्कासन गरेका छन् । ऋणपत्रको ब्याज बढी भएपछि लगानीकर्ताको रोजाइ अझै मुद्धति निक्षेपमा परेको छ । मुद्धति निक्षेपको ब्याजदर ९.६ प्रतिशत छ ।