वैशाखभित्र माथिल्लो तामाकोसीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान थालिने

गोंगर (दोलखा) । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा २२ वैशाखभित्र पेनस्टक पाइप जडान सुरु हुने भएको छ ।

माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइन जडान सुरु हुनेछ । आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्नेछ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टक पाइपहरु जडान भइसकेका छन् । अब ती बेन्ड पाइपहरुभन्दा माथि पाइप जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर तामाकोसी हाइड्रोपापर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्यहरु निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गरेका छन् । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए ।

बैठकमा टेक्स्म्याकोका मुख्य कार्यलयका प्रमुख कार्यलयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जीसी अग्रवाललगायत प्रमुख डिजाइन र इरेक्सेन इन्जिनियरहरु, सिभिल ठेकेदार सिनो हाइड्रोका आयोजना प्रमुख, एन्ड्रिज हाइड्रोका साइट प्रतिनिधि र परामर्शदाताका प्रतिनिधिहरुको उपस्थिति थियो ।

‘माथिल्लो तामाकोसीको लगानी गरेकाले आयोजना निर्माण कहिले सकिन्छ भन्नेमा हरेक नेपालीको चासो छ, त्यसैले व्यवस्थापन र स्वामित्व लिएर कामलाई तीव्रता दिनुहोस्’, घिसिङले निर्देशन दिए, ‘विद्युत् गृहको काम सकिएर त्यहाँ रहेका टर्बाइनहरु पानी पर्खिएर बसेका छन्, मुलुकको अर्थतन्त्रलाई ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने राष्ट्रिय गौरवको आयोजनाको आपूmले लिएको जिम्मेवारी छिटो पूरा गरिदिनुहोस् ।’

बैठकमा टेक्स्म्याकोका सीईओ अग्रवालले लगायत अन्य ठेकेदार कम्पनीले आ–आफ्नो काम एकअर्कासँग समन्वय गरी निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । ‘हामीलाई अवसर दिनुहोस्, हाम्रो काम निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध छौं’, अग्रवाललले भने ।

बैठकमा आयोजनाको अत्यन्तै जटिल एवम् चुनौतीपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिबारे विस्तृत छलफल तथा समीक्षा गरिएको थियो । त्यस्तै बाँध, इन्टेक र बालुवा थिग्य्राउने पोखरीमा आगामी जेठ महिनाको पहिलो साताभित्रमा पानी भरी परीक्षण गर्नेबारे छलफल भएको थियो ।

‘हेडवक्र्सका संरचनाहरुमा आगामी जेठको महिलो साताभित्र पानी भरी संरचना र गेटहरुको परीक्षण सुरु गरिसक्नुपर्छ’, घिसिङले निर्देशन दिँदै भने, ‘मुख्य सुरुङमा कंक्रिट लाइनिङको काम छिछो सक्नुहोस् ।’

२०७२ को विनाशकारी भूकप्प र त्यसपछिका परकम्प एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर लट २ को ठेकदारको कमजोर कार्य सम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २÷२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् । कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर छ ।

कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत सेयर छ ।