नदीको वहावमा आधारित ( रन अफ दी रिभर) आयोजनाबाट ४ वर्ष अर्थात २०२२ को अन्त्यमा बिजुली उत्पादन थाल्ने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । धादिङमा ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । निजी लगानीमा धादिङ आँखुखोला हाइड्रोपावर प्राइभेट लिमिटेडले जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो ।
विद्युत विकास विभागले धादिङ आँखुखोला हाइड्रोपावर प्राइभेट लिमिटेडलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने तयारी सुरु गरेसँगै जलविद्युत् आयोजना निर्माण हुने पक्का भएको हो ।
आँखुखोला हाइड्रोपावरले आउँदो ३५ दिनपछि लाइसेन्स पाउने छ भने लाइसेन्स पाएलगत्तै उसले विद्युत् आयोजना निर्माणको काम थाल्ने बताइएको छ ।
नदीको वहावमा आधारित (रन अफ दी रिभर) आयोजनाबाट ४ वर्ष अर्थात २०२२ को अन्त्यमा बिजुली उत्पादन थाल्ने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट वार्षिक २१ करोड ९१ लाख ४० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ ।
आयोजनामा पानीको वहाव १६ घनमिटर प्रतिसेकेण्ड रहेको छ । उचाइ २७७ मिटर छ । आयोजनाको मुख्य संरचना आँखुखोलाको दायाँ भागमा पर्छ । आयोजना धादिङ्गवेसी बजारबाट ५५ किलोमिटर टाढा रुवी भ्याली गाउँपालिकामा पर्छ ।
आयोजनाको बाँध आँखु र लापाखोलाको संगम स्थलबाट ८० मिटर तल पर्छ । यस्तै विद्युतगृह हनाम र आँखुखोलाको संगम तल पर्ने आयोजनाले जनाएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली २८ किलोमिटर लामो प्रसारणलाइनबाट त्रिशुली ३ ‘बी हवमा जोडिने भएको छ ।