८४८ मेगावाटका ३ जलाशययुक्त आयोजना, सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटको तयारी

सम्भाव्यता अध्ययनपछि मात्र आयोजनाको जडित क्षमता र यकिन लागत आउने विभागको भनाइ छ । खिम्ती ठोसे शिवालय रामेछाप र दोलखा जिल्लामा पर्छ । बरवाङ र तातु आयोजना डोल्पा जिल्लामा छन् । सरकारको आफ्नो लगानीमा दुवै आयोजनाको सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

काठमाडौं । सरकारले ८३८ मेगावाट क्षमताका ३ ठूला जलाशययुक्त विद्युत आयोजनाको काम अघि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३ सय २६ मेगावाटको खिम्ती ठोसे शिवालय जलाशय र ५१२ मेगावाटको बरवाङका साथै १० मेगावाटको तातु जलविद्युत आयोजना अघि बढाउन लागेको हो । तातु आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) हो ।

तीन ओटै आयोजनाको सम्भाव्यता अध्ययनका लागि मन्त्रालयले परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको विद्युत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवालले बताए । परामर्शदाता नियुक्तिका लागि आशयपत्र (ईओआई) माग गरिएको उनले जानकारी दिए । छनोट हुने परामर्शदाताले तीन ओटै आयोजनाको सम्भाव्यता अध्ययनका अतिरिक्त वातावरणीय प्रभाव मूल्याङ्कन सुरु गर्नेछन् ।

सम्भाव्यता अध्ययनपछि मात्र आयोजनाको जडित क्षमता र यकिन लागत आउने विभागको भनाइ छ । खिम्ती ठोसे शिवालय रामेछाप र दोलखा जिल्लामा पर्छ । बरवाङ र तातु आयोजना डोल्पा जिल्लामा छन् । सरकारको आफ्नो लगानीमा दुवै आयोजनाको सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

आशयपत्र पेस गर्ने अन्तिम मिति वैशाख ३० गते अर्थात् मे १४ तारिखलाई तोकिएको छ । आशयपत्रबाट छनोट भएका परामर्शदाताले बोलपत्रमा भाग लिने पाउनेछन् । आशयपत्रमा छनोट हुन परामर्शदाताको योग्यता ३५, अनुभव ५५ र क्षमता १० प्रतिशत छ । यी योग्यता पुगेका अन्तर्राष्ट्रिय परामर्शदाता मात्र छनोट हुनेछन् । ईओआईमा छनोट हुन न्यूनतम ६० प्रतिशत ल्याउनुपर्नेछ ।