पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो ग्राभिटी बाँध र सहायक बाँध, नदिको वहाव परिवर्तन गर्नका लागि डाइभर्सन सुरुङ र अस्थाइ बाँध (कफर ड्याम) निर्माणको काम रहेको छ ।
काठमाडौं । तनहुँ जलविद्युत आयोजनाले पहिलो प्याकेज अन्र्तगत बाँध निर्माणलगायत अन्य कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) आह्वान गरेको छ । प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडले बिहीबार ग्लोबल टेन्डरको आह्वान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ २६ गते अर्थात जुन ९ लाई तोकिएको छ ।
लगानीकर्ता एसियाली विकास बैङ्कले (एडीबी) सहमति जनाएपछि तनहुँले बोलपत्र आह्वान गरेको हो । आयोजनामा एडीबीका अतिरिक्त युरोपियन इन्भेष्टमेन्ट बैङ्क (ईआईबी) कोसमेत लगानी रहेको छ । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो ग्राभिटी बाँध र सहायक बाँध, नदिको वहाव परिवर्तन गर्नका लागि डाइभर्सन सुरुङ र अस्थाइ बाँध (कफर ड्याम) निर्माणको काम रहेको छ । प्रक्रिया सुरु भएकाले आयोजनाको अवरुद्ध पहिलो प्याकेजको पनि काम अघि बढ्ने भएको छ ।
तनहुँ हाइड्रोपावर र इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमएसी) डी रेभनाबीच गत असोज १५ गते २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा पहिलो प्याकेजको खरिद सम्झौता भएको थियो । उसले काम सुरु नगरेपछि तनहुँले बोलपत्र रद्ध गरी नयाँ प्रक्रिया सुरु गरेको हो ।
आयोजनामा दोस्रो लटको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेसन लिमिटेड परिचालन भइसकेको छ । सिनोले आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान, सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा ठेक्का तोडिएपछि यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । तेस्रो प्याकेज अन्तर्गत विद्युतगृह तनहुँदेखि चितवनको भरतपुरसम्म विद्युत प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइन संरचनाको जिम्मा भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ ।
आयोजनाको कुल लागत ५८ अर्ब ८ करोड रुपैयाँ छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत हो । एडीबीले १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर, जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ अर्ब ४० करोड रुपैयाँ अर्थात १८ करोड ४० लाख डलर, ईआईबीले ८ अर्ब ५० करोड रुपैयाँ अर्थात ८ करोड ५० लाख डलर र सरकार/नेपाल विद्युत प्राधिकरणले ८ अर्ब ७० करोड रुपैयाँ अर्थात ८ करोड ७० लाख डलर लगानी गरेका छन् ।