कालीगण्डकी करिडोर प्रसारण लाइनकाे भौतिक प्रगति २० प्रतिशत, अझै ३ वर्ष लाग्ने

अहिले म्याग्दीको दानादेखि कुश्मा नगरपालिका खुर्कोटसम्मको प्रसारण लाइन निर्माणले केही गति लिए पनि रुख कटानकै समस्याले विगत ६ महिनादेखि उक्त खण्डमा काम हुन सकेको छैन ।

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको काम सुस्त देखिएको छ । म्याग्दीको दानादेखि कुश्मा हुँदै नवलपरासीको बर्दघाटसम्म १४२ किलोमिटरको उक्त प्रसारण लाइन निर्माण सुस्त देखिएको हो । अहिले म्याग्दीको दानादेखि कुश्मा नगरपालिका खुर्कोटसम्मको प्रसारण लाइन निर्माणले केही गति लिए पनि रुख कटानकै समस्याले विगत ६ महिनादेखि उक्त खण्डमा काम हुन सकेको छैन ।

प्रसारण लाइन निर्माणका लागि रुख क्षेत्रमा पर्ने जग्गाको प्रयोग गर्न मन्त्रिपरिषदबाट स्वीकृति भए पनि रुख कटान र जग्गा प्राप्तिमा समस्या देखिँदा आयोजना अन्योलग्रस्त छ । सो खण्डमा ११० ओटा टावर निर्माण गर्नुपर्ने हुन्छ । ७५ प्रतिशत भौतिक प्रगति रहेको उक्त खण्डको अवरोध हटाउन छलफल भइरहेको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिए । म्याग्दी र मुस्ताङमा निर्माण भइरहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा यसै आयोजनामार्फत जोडिनेछ ।

यता, कुश्मा—न्यु बुटवल प्रसारण लाइन खण्डको काम पनि भर्खर सुरु भएको छ । उक्त खण्डमा हाल १५ प्रतिशत मात्रै भौतिक प्रगति देखिन्छ । निर्माणको ठेक्का र जग्गा मुआब्जाको काम टुङ्गिएर अघि बढेको घोषले बताए ।

त्यसैगरी, न्यु बुटवल—बर्दघाट प्रसारण लाइन निर्माणका लागि भर्खरै कम्पनी छनोटका लागि बोलपत्र आह्वान गरिएको छ । न्यु बुटवल सबस्टेसन निर्माण सम्पन्न हुन सकेको छैन । सबस्टेसनको काम ७० प्रतिशत भए पनि सम्पन्न हुन अझै एक वर्ष लाग्ने देखिन्छ ।

उक्त प्रसारण लाइनको समग्र प्रगति हालसम्म २० प्रतिशत छ । आयोजनाको लागत कुल ८० मिलियन डलर अनुमान गरिएको छ ।