नवलपुरस्थित प्राकृतिक चिकित्सालयको आधुनिक उपचार भवन १० करोड ७१ लाखमा बन्दै

तीन तलाको सुविधा सम्पन्न आधुनिक भनव निर्माणका लागि १० करोड ७१ लाख ७९ हजार २९० खर्च लाग्ने र तीन वर्षमा भवन निर्माण गरिसक्ने जनाइएको छ ।

कावासोती । नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यास गरिएको छ । शनिबार प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले भवनका शिलान्यास गरेका हुन् ।

सामुदायकि प्राकृतिक चिकित्सालयमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको पुँजीगत अनुदानबाट आधुनिक उपचार भवन निर्माण गर्न लागिएको हो । तीन तलाको सुविधा सम्पन्न आधुनिक भनव निर्माणका लागि १० करोड ७१ लाख ७९ हजार २९० खर्च लाग्ने र तीन वर्षमा भवन निर्माण गरिसक्ने जनाइएको छ ।

उक्त भवनका लागि हाल प्रदेश सरकारबाट एक करोड विनियोजन गरिएको छ । सोही बजेटबाट भवन निर्माणको थालनी गरिएको र अपुग रकम आन्तरिक स्रोत परिचालनका साथै सरकारले व्यहोर्ने चिकित्सालयका निर्देशक डा.विनोद पौडेलले बताए ।

भवन निर्माण भएसँगै थप दुईसय बिरामीलाई आवासीय रुपमा सेवा प्रदान गर्न सकिने जनाइएको छ । उक्त चिकित्सालय १५० श्यया क्षमताको छ ।

रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा पञ्च तत्व, योग ध्यान, फिजियो थेरापी, अकुपञ्चर, अकुप्रेसर भोजन चिकित्सा पद्धतिबाट स्वास्थ्योपचार गर्ने गरिन्छ । विसं २०६८ माा स्थापना भएको यस चिकित्सालयमा देशका ६६ जिल्लाका साथै भारतका बिरामी गरी करीब २० हजारले उपचार गराएकोे निर्देशक पौडेलले बताए ।