आठ हजार मेगावाट क्षमताका ४९ जलविद्युत् आयोजना अध्ययनको चरणमा

यसअघि ६ ओटा आयोजनाको अध्ययन भई लाइसेन्सका लागि आवेदन दिएका छन् । विभिन्न क्षमताका १२७२ मेगावाटका जलविद्युत् आयोजनाको अध्ययन भई उत्पादन अनुमतिपत्रका लागि विभागमा निवेदन दिएका छन् ।

काठमाडौं । देशभरबाट विभिन्न अध्ययनको चरणमा ८ हजार मेगावाट क्षमताका विभिन्न ४९ ओटा जलविद्युत् आयोजना छन् । ठूला देखि ससाना क्षमताका जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको विद्युत् विकास विभागले जनाएको छ ।

विभागका अनुसार, अध्ययनको चरणमा सबैभन्दा ठूलो जलविद्युत् आयोजना १८५३ मेगावाटको खिम्ती शिवालय स्टोरेज जलविद्युत् आयोजना छ । त्यस्तै, १११६ मेगावाटको सुनकोशी-२, ६७९ मेगावाटको तल्लो अरुण, ५३६ मेगावाटको सुनकोशी-३,५१० मेगावाटको बुरवाङ्खोला, ४१० मेगावाटको नलस्याउगाड, ३३५ मेगावाटको माथिल्लो अरुणलगायतका ठूला जलविद्युत् आयोजना अध्ययनको चरणमा रहेको विभागले जनाएको छ । तीबाहेक अन्य जलविद्युत् आयोजनाको पनि अध्ययन भइरहेको विभागका महानिर्देशक मधुप्रसाद भेटुवालले जानकारी दिए ।

यसअघि ६ ओटा आयोजनाको अध्ययन भई लाइसेन्सका लागि आवेदन दिएका छन् । विभिन्न क्षमताका १२७२ मेगावाटका जलविद्युत् आयोजनाको अध्ययन भई उत्पादन अनुमतिपत्रका लागि विभागमा निवेदन दिएका छन् । यसरी अध्ययन सम्पन्न भएका आयोजनाहरुमा १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना, ४८ मेगावाटको भेरी बबई डाइभर्सन, २.५ मेगावाटको डोटीघाट, ८ मेगावाटको तल्लो चेपेखोला जलविद्युत् आयोजना, १२ मेगावाटको माइयाखोला र ४५० किलोवाटको मुस्ताङमा वायु ऊर्जाको अध्ययन भइसकेको विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार अहिले २७७९ मेगावाटका १०४ ओटा आयोजना सरकारको बास्केटमा छन् ।