२५ जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की, राज्य निरीह– अध्यक्ष सिंह

महासङ्घका अध्यक्ष रवि सिंहले तत्कालीन अध्यक्ष शरदकुमार गाैचनकै जस्तो हालत बनाउने धम्की बारम्बार आएकाे र पैसा ठिक पार्न धम्की दिने गरेको बताए । यसमा राज्य निरीह बनेको उनको भनाइ छ ।

काठमाडौं । पच्चीस जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएकाे छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्यहरु गरी करिब २५ जनालाई अज्ञात नम्बरबाट धम्की आउने गरेको बताइएको छ ।

महासङ्घका अध्यक्ष रवि सिंहले तत्कालीन अध्यक्ष शरदकुमार गाैचनकै जस्तो हालत बनाउने धम्की बारम्बार आएकाे र पैसा ठिक पार्न धम्की दिने गरेको बताए । यसमा राज्य निरीह बनेको उनको भनाइ छ ।

करिब दुई महिनाअघिबाटै धम्की आएकाे र साेकाे जानकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि सबै निकायमा जानकारी गराउँदा पनि बेवास्ता गरेकाे उनकाे आराेप छ। जसका कारण व्यवसायीहरु कार्यस्थलमा जान नसकेकाे उनको भनाइ छ ।

हाल महासङ्घका अध्यक्ष सिंह, मानार्थ सदस्य जिपछिरिङ लामा, सल्लाहकार एवम् पूर्व अध्यक्ष रमेश शर्मा, जयराम लामिछाने, सल्लाहकार शारदाप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष निकाेलस पाण्डे, महासचिव राेशन दाहाललगायतलाई पटकपटक धम्की आएकाे जनाइएको छ।

महासङ्घका पूर्व अध्यक्ष लामिछानेले आफूहरुलाई सरकारले सुरक्षा दिन नसकेको बताए । उनले ठेक्का थाहा हुनेसँग ३ प्रतिशत माग गर्ने गरेको र अरुलाई निश्चित रकम माग्ने गरेकाे बताए । उनले सुरक्षा नभएकै कारण आफूहरुले घर छाेड्न नसकेको र निर्माणकाे काम अगाडि बढाउन नसकिएको बताए ।