निर्माण व्यवसायीलाई मात्र हैन अब सरकारी कर्मचारीलाई पनि कारबाही,– मन्त्री महासेठ

कुनै पनि आयोजनाको काम बिग्रिँदा निर्माण व्यवसायी मात्र दोसी नहुने भएकाले त्यससँग सम्बन्धित कार्यालयका कर्मचारीलाई समेत कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई मात्र नभई सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई पनि कारबाही गर्ने बताएका छन् । कुनै पनि आयोजनाको काम बिग्रिँदा निर्माण व्यवसायी मात्र दोसी नहुने भएकाले त्यससँग सम्बन्धित कार्यालयका कर्मचारीलाई समेत कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक खरिद ऐन÷नियमावली तथा निर्माण व्यवसाय ऐन÷नियमावली संशोधनका लागि राय सुझाव सङ्कलन भेलालाई सम्बोद्धन गर्दै मन्त्री महासेठले ती कर्मचारीले आयोजनाको काम कसरी अगाडि बढिरहेको र कुन डिजाइनमा काम भइरहेको छ भन्ने हेर्न आवश्यक रहेकाले सम्बन्धित कर्मचारीलाई समेत ध्यानाकर्षण गराएका छन् । उनले कुनै कर्मचारीले व्यवसायीलाई अनावश्यक दुख दिएमा तत्काल खबर गर्न आग्रह गरेका छन् ।

मन्त्री महासेठले एक अर्को प्रसंगमा निर्माण व्यवसायीलाई ५५ प्रतिशतभन्दा थोरै (बिलो)मा ठेक्का लिएर कसरी काम गर्नु हुन्छ भन्ने प्रश्न गरेका छन् । काम लिने होडमा लागेर व्यवसायीहरुले बिलोमा काम गर्ने र गुणस्तरीय काम नगर्ने प्रवृत्ति बढेकोप्रति आपत्ति जनाएका हुन् ।

काम पाइएन भन्ने निहुँमा बिलोमा ठेक्का हालेर आयोजना अलपत्र पार्ने काम रोक्न अनुरोध गरेका छन् । ठेक्का लिने नाममा होडबाजी गर्ने र काम गर्नेबेला गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्ने उनको भनाइ छ ।