बैङ्कले मुद्दती निक्षेपमा न्यूनतम ८ देखि अधिकतम ९.२५ प्रतिशत ब्याज दिने भएको छ । निफ्राले वाणिज्य बैङ्कको हारहारीमा ब्याज दिने भएको छ । मुद्दती निक्षेपको ब्याजदर हेर्दा यो बैङ्कबाट पूर्वाधार सस्तोमा कर्जा पाउने सम्भावना कम देखिएको छ ।
काठमाडौं । दुई महिनाअघि मात्र सञ्चालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले ठूला पूर्वाधारमा लगानी जुटाउन मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । निफ्राले वाणिज्य बैङ्क हाराहारीमा मुद्दती निक्षेपमा ब्याज दिने भएको हो ।
बैङ्कले मुद्दती निक्षेपमा न्यूनतम ८ देखि अधिकतम ९.२५ प्रतिशत ब्याज दिने भएको छ । निफ्राले वाणिज्य बैङ्कको हाराहारीमा ब्याज दिने भएको छ । मुद्दती निक्षेपको ब्याजदर हेर्दा यो बैङ्कबाट पूर्वाधार सस्तोमा कर्जा पाउने सम्भावना कम देखिएको छ । निफ्राले व्यक्तिगत मुद्दतीमा ९.२५ प्रतिशत ब्याज दिने जानकारी दिएको छ ।
बैङ्कले संस्थागत निक्षेपकर्तालाई लक्षित गरी न्यूनतम ८ देखि ९ प्रतिशत ब्याज दिने गरी शुभ पूर्वाधार खाता ल्याएको छ । जसअनुसार ५ वर्षका लागि न्यूनतम ९, छदेखि १० वर्षका लागि ८.५ र ११ देखि १५ वर्षसम्मलाई ८ प्रतिशत ब्याजदर तय गरेको छ । बैङ्कले न्यूनतम ५ वर्षदेखि अधिकतम १५ वर्षसम्मका लागि मुद्दती निक्षेप योजना ल्याएको हो ।
यस्तै बैङ्कले व्यक्तिगत तथा संस्थागतका लागि ल्याएको निफ्रा शुभ पूर्वाधार खातामा न्यूनतम १ करोड रुपैयाँ हुनुपर्ने र यसको अवधि ५ वर्ष माथि रहने बैङ्कले जानकारी गराएको छ । संस्थागत निक्षेपकर्तालाई लक्षित गरी ल्याएको त्रिगुणा पूर्वाधार खातामा न्यूनतम ५ करोड रुपैयाँ छ ।
बैङ्कले दीर्धकालीन मुद्दती खाता र ऋणपत्र (डिबेञ्चर) र विदेशबाट ऋण लिएर पूर्वाधारमा लगानी जुटाउन पाउने छ । याे बैङ्क ठूला पूर्वाधारलाई लगानी जुटाउन स्थापना भएको हो ।