कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माण सम्पन्न, ३ महिनाभित्र विद्युत् उत्पादन गर्ने

चिनियाँ कम्पनीका ढिलाइका कारण दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न हुने आयोजनाको निर्माणमा अहिलेसम्म चार अर्ब ६३ करोडभन्दा बढी खर्च भइसकेको छ ।

काठमाडौं । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयभन्दा ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

चिनियाँ कम्पनीका ढिलाइका कारण दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न हुने आयोजनाको निर्माणमा अहिलेसम्म चार अर्ब ६३ करोडभन्दा बढी खर्च भइसकेको छ । निर्माण कार्य सम्पन्न भएपछि आयोजनाले सुरुङको सफल परीक्षणसमेत गरेको आयोजनाका इञ्जिनीयर सुवास मिश्रले बताए ।

कुलेखानी तेस्रोको ४ दशमलव २ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको छ । चौध मेगावाट क्षमता भएको कुलेखानी तेस्रोले तीन महीना भित्रमा नियमित विद्युत् उत्पादन गर्ने आयोजनाका इञ्जिनीयर मिश्रको भनाइ छ । विद्युत् गृहका टरर्वाइन र जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणका जडान सम्पन्न गरी परीक्षण काम भइरहेको छ ।

विद्युत्गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करीब ५०० मिटर तार तानेपछि काम पूरा हुने इञ्जिनीयर मिश्रले बताए । आयोजनाले कुलेखानी जलाशयको नियमित बहाब र खानीखोलाको थप पानी प्रयोग गरिनेछ ।