पर्यटन नीतिमा सुधार र पूर्वाधार निर्माण पहिलो सूत्र

अहिले सरकारले धेरै मुलुकसँग हवाई सम्झौता गरे पनि सीधा उडान भने हुन सकेको छैन । सरकारी ध्वजावाहक जहाज नहुँदा यस्तो स्थिति आएको हो ।

नेपाल पर्वतीय पर्यटनका लागि संसारको उत्कृष्ट गन्तव्य हो । तर सोचे जस्तो पर्यटकलाई नेपालमा भित्र्याउन सकिएको छैन । नेपालमा पर्वतीय पर्यटनका लागि आवश्यक पूर्वाधार सडकमार्ग होस् वा स्तरीय स्वास्थ्य चौकी/अस्पतालहरु बनेका छैनन् । अन्य देशको तुलनामा नेपालमा पर्वतीय पर्यटनका लागि आवश्यक पूर्वाधारको कमी भएका कारण धेरै पर्यटक नेपाल आउन चाहँदैनन् ।

विदेशीहरु नेपाल आउनुअघि धेरै विषयमा जानकारी लिएका हुन्छन् । हवाई वा सडकमार्गबाट जाँदा कति समयमा पुगिने, कति सुरक्षित छ भन्नेबारे पहिले नै बुझेर मात्रै यात्रा गर्ने गर्छन् । केही दुर्घटना भयो भने उद्धार र उपचारको अवस्था कस्तो छ आदि विषयमा पहिला नै जानकारी लिने गरेका हुन्छन् । त्यसैका आधारमा आफ्नो यात्रा योजना बनाउने गर्छन् । त्यसैले पर्यटन भन्नेबित्तिकै पूर्वाधार कस्तो छ भन्ने कुराले विशेष अर्थ राख्छ, चाहे त्यो पर्वतारोहण होस् वा अन्य क्षेत्र ।

नेपालतर्फ आवश्यक पूर्वाधार नहुँदा हिमाल चढ्ने पर्यटक चीन, भारत र पाकिस्तानको बाटो प्रयोग गर्ने गरेको पाइन्छ । धेरै पूर्वाधारहरु विकास भएकाले पर्यटकहरु सहज मार्ग खोज्दै छिमेकी मुलुकतिर लाग्ने गरको छन् । तिब्बततर्फ धेरै हिमालको ‘बेस क्याम्म’सम्म सवारीसाधान जान्छ । तर नेपालमा बेस क्याम्पसम्म गाडी नपुग्ने भएकाले बेस क्याम्प पुग्न र फर्किन धेरै समय लाग्छ । अहिलेका मानिस धेरै व्यस्त छन् । उनीहरु समय हेरेर यात्रा गर्छन् । आफू जानुपर्ने ठाउँमा कहाँबाट सजिलै र छिटो पुगिन्छ भन्ने निक्र्योल गरेर मात्र यात्रामा निस्कनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै छ । यसले समयको मात्रै बचत गर्दैन, लागत पनि घटाउँछ । थोरै पैसाले धेरै ठाउँमा घुम्न पाइन्छ । किनभने समय धेरै लाग्दा अवश्य पनि पैसा पनि धेरै लाग्छ । त्यसैले हिमालका बेस क्याम्पसम्म सडकमार्ग बनाउन सके धेरै पर्यटकलाई नेपाल भिœयाउन सकिन्छ ।

तिब्बतको छोयु हिमाल नेपाल र तिब्बत दुवैतिरबाट आरोहण गर्न मिल्छ । तिब्बततर्फ हिमालको बेस क्याम्पभन्दा माथिल्लो भागसम्म गाडी जान्छ । त्यसैले शरद ऋतुमा ५४ टिमसम्म पर्यटकले तिब्बतबाट छोयु हिमाल आरोहण गरेको रेकर्ड छ । तर नेपालमा भने सबैभन्दा बढी सगरमाथा र आमादब्लममा ३० टिमको हाराहारीमा आउने गरेका छन् । सगरमाथामा पनि सन् २००७ तिर तिब्बतबाटै आरोहण गर्न विदेशी पर्यटक जाने गरेका थिए । तर सन् २००८ देखि तिब्बतबाट चढ्नेहरु पनि नेपालमा आउने गरेको पाइन्छ । किनकि सन् २००५ मा चीनका वैज्ञानिकहरुले सगरमाथाको उचाइ नापेका थिए । त्यो बेला सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ५७ मिटर रहेको निकालेको थियो । तर, अन्तर्राष्ट्रिय मान्यता प्राप्त उचाइ भने ८ हजार ८ सय ४८ मिटर हो ।

२००८ तिर तिब्बतबाट चढ्नेहरुको सर्टिफिकेटमा ८ हजार ८ सय ४४ दशमलव ५७ लेख्ने र नेपालबाट लेख्दा ८ हजार ८ सय ४८ मिटर लेख्दा अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ र अन्तर्राष्ट्रिय जगत्ले स्वीकार नगरेपछि तिब्बत जाने हिमाल आरोहीहरु सबै नेपालतर्फ आउन लागेका छन् । सन् २०१६ तिर फेरि चीनले सगरमाथाको उचाइ बढाएर ८ हजार ८ सय ४८ दशमलव १३ बनाएर सर्टिफिकेट दिन थालेपछि फेरि चीनबाट आरोहणका लागि जाने गरेका छन् । त्यसको प्रभाव अहिले नेपालमा परिरहेको छ । चीनबाट सगरमाथा आरोहण गर्दा धेरै सस्तो पर्छ । नेपालबाट चढ्नुभन्दा चीनबाट चढ्दा धेरै सस्तो र छिटो हुने भएकाले पर्यटकको ध्यान त्यसतर्फ मोडिएको पाइन्छ ।

केही समयअघि नेपालमा अप्ठ्यारोमा परेका पर्यटक उद्धारका नाममा हुने अवैध धन्दाबारेको समाचार बाहिरिएपछि त्यसले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरेको छ । ‘फेक रेस्क्यू’ हुने गरेको भन्ने समाचार आएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले ७ सय पानाको प्रतिवेदनसमेत सरकारलाई बुझाएको छ । त्यस प्रतिवेदनमा वास्तविकता के हो भन्ने खुलाएर केही पक्षलाई ठोस कारबाही सिफारिस पनि गरेको भनिए पनि अहिलेसम्म सरकारले त्यसबारे कारबाही गर्न नसकेपछि विदेशी बिमा कम्पनीहरुले नेपालमा आउने पर्यटकको बिमा गर्न मानिरहेका छैनन्् । यसले गर्दा नेपालले करोडौं रुपैयाँ घाटा बेहोर्दै आएको छ ।

फेक रेस्क्यूको घटनासँगै नेपाल आउने पर्यटकको बिमा गर्दा बिमा कम्पनीहरुले बिमाशुल्क धेरै बढाएको भन्ने सुनिन्छ । अहिले बिमा कम्पनीहरुले जीवन बिमा र मेडिकल बिमा गरे पनि उद्धार (हेलिकोप्टर)को भने हत्तपत्त बिमा गराउन चाहँदैनन् । बिमा गराइहाल्यो भने पनि आठ सय पाउन्ड स्टर्लिङ वा १३÷१४ सय डलरसम्म पर्ने गरेको छ । त्यो रकम प्याकेजमा जोड्दा धेरै हुन्छ । नेपाल सरकारले यो समस्या तत्काल समाधान गर्न सकेन भने भ्रमण वर्ष २०२० मनाउनुको औचित्य देखिँदैन । र पर्यटक नेपाल आउने क्रममा ‘ब्रेक’ लाग्न सक्छ ।

त्यसै पनि पछिल्लो समय भारत र चीनबाट आउने पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि युरोपियन मुलुकबाट आउने पर्यटक थोरैको सङ्ख्यामा छन् । यसको मुख्य कारण ‘फेक रेस्क्यू’को उजागर र त्यसपछि बढेको बिमाशुल्क, बिमा गर्नै आनाकानी गर्ने प्रवृत्ति र युरोपियन युनियन (ईयू)ले नेपाली आकाशलाई कालोसूचीमा राखेका कारण मुख्य पर्छन् ।

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी सरकारले सगरमाथा आरोहण गरेका विश्वका सबै व्यक्तिलाई जम्मा गरी प्रचारप्रसारको जिम्मेवारी दिन सक्नुपर्छ । विदेशमा सगरमाथा आरोहण गर्नेहरुलाई राष्ट्रिय व्यक्तित्वका रुपमा सम्मान गरिने भएकाले नेपाल र सगरमाथाको प्रचारका लागि उनीहरुलाई प्रयोग गर्नु आवश्यक देखिन्छ । यसो गर्न सकियो भने धेरै नै प्रभावकारी काम हुन्छ । त्यस्तै सगरमाथा आरोहीहरुलाई निःशुल्क भिसा दिन सके पनि धेरै पर्यटक सहजै नेपाल भिœयाउन सकिन्छ । यस्तै हिमाल आरोहणको अनुभव आदानप्रदानलाई पनि विशेष जोड दिनुपर्छ । यसले हिमाल आरोहणभन्दा पहिला र आरोहण गरिसकेपछिको अनुभव र यथार्थ विवरण प्रचारप्रसारमा सहयोग पुग्छ । धेरै मानिस आरोहणका समाचार प्रकाशन/प्रसारण गर्न र हौसला प्रदान गर्न नेपाल आएका हुन्छन् । त्यस्ता पर्यटकलाई पनि प्रयोग गरेर नेपालले हिमालको विषयमा व्यापक प्रचारप्रसार गर्न सक्नुपर्छ ।

त्यसैगरी हिमालको ‘डकुमेन्ट्री’ बनाउन आउनेहरुलाई केही मात्रामा छुट दिनेतर्फ सरकारले आवश्यक पहल गर्नुपर्छ । किनभने अहिले एउटा हिमालको डकुमेन्ट्री बनाउन जान मात्र तीन ठाउँमा कर तिर्नुपर्छ । र तीन जना ‘लेजर अफिसर’ लिएर जानुपर्ने हुन्छ, जसले गर्दा डकुमेन्ट्री बनाउने व्यक्ति ठूलो आर्थिक भारमा पर्छ । र उनीहरु सकेसम्म नेपालको हिमालाको डकुमेन्ट्री बनाउन रुचि राख्दैनन् । यसले हिमालको वास्तविक चित्रण नहुँदा पर्यटकले प्राथमिकतामा राख्ने गर्दैनन् ।

नेपालको पर्यटन नीतिलाई परिमार्जन नगरी पर्यटक भित्र्याउने लक्ष्य लिएर मात्र केही हुँदैन । अहिलेको पर्यटन नीति व्यवसायी तथा श्रमिकमैत्री छैन । पर्यटन नीतिमा सुधार गर्न सकियो भने नेपालको पर्यटन आफै विकास र विस्तार हुन्छ । निजीक्षेत्रकै पहलमा लाखौं पर्यटक नेपाल भित्रिन्छन् । पर्यटन नीतिले कस्तो प्रभाव पार्छ भन्ने कुरा तिब्बतसँग दाँज्दा पनि हुन्छ । सन् २००६ तिर ३ लाख ६० हजार पर्यटक आउने तिब्बतमा पर्यटन नीतिमा गरिएको परिवर्तनले सन् २०१७ मा १ करोड १० लाख आएको रेकर्ड भएको छ ।

११ वर्षको अन्तरालमा तिब्बतले पर्यटक आगमनमा ठूलो फड्को मार्न सफल भयो भने नेपालले किन सक्दैन ? यसरी पर्यटकको सङ्ख्या वृद्धि हुनुमा पहिलो पूर्वाधार विकास हो भने अर्को पर्यटन नीतिमा परिमार्जनको परिणाम हो । पहिला तिब्बतमा ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्र थियो भने अहिले सातआठ ओटा विमानस्थल निर्माण भइसकेका छन् । त्यसैले नेपालको पर्यटन नीति पर्यटनमैत्री र व्यवसायीमैत्री हुनु आवश्यक छ । नेपालमा पर्यटन क्षेत्रमा लगाउने करको दायरा भिन्नभिन्न छ । सङ्घ, प्रदेश र स्थानीय तहदेखि संरक्षित र आरक्षित सबै ठाउँमा कर तिर्नुपर्ने र अनेकन झन्झट बेहोर्नुपर्ने स्थिति छ । यसले पर्यटक नेपाल आउनुभन्दा अन्य देशमा जान बढी रुचाउने गरेका छन् ।

नेपालमा सबैभन्दा बढी पर्यटक हिमाल आरोहणका लागि आउँछन् । त्यसका केही सकारात्मक कारण छन् । अन्य मुलुकभन्दा नेपालमा धेरै कम ‘लेक’ लाग्ने गर्छ । हिमालको फेदसम्म रुख रहेको र घाँसहरु धेरै रहेका कारण लेक लाग्ने समस्या कम हुँदा हिमाल आरोहण गर्ने पर्यटकले नेपाल रोज्ने गरेका हुन् । त्यस्तै आरोहणमा जाने पथपदर्शक (गाइड)हरु धेरै शेर्पा छन् । उनीहरु सहयोगीका साथै अनुभवी पनि छन् । त्यस्तै खोज तथा उद्धारका लागि नेपालमा विज्ञहरुको राम्रो टिम छ भने हेलिकोप्टरहरु त्यहीअनुरुप अधिक सुरक्षित छन् । त्यसले गर्दा हिमाल आरोहण गर्ने पर्यटकले नेपाल रोज्ने गर्दछन् । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी अहिलेका भन्दा धेरै सेवासुविधा दिने कोसिसमा हामी लागिरहेका छौं ।

पर्याप्त पर्यटक भित्र्याउन नसक्नुका पछाडि धेरै कारणमध्ये एउटा नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ भने पर्याप्त मात्रामा राष्ट्रिय ध्वजावाहक जहाज छैन । विदेशी पर्यटकका लागि राष्ट्रिय ध्वजावाहक जहाजले धेरै महङ्खव राख्छ । उनीहरुले जुन देशमा जान खोज्छन्, ती देशमा राष्ट्रिय ध्वजावाहक जहाज कति छन् भनेर हेर्ने गरेका छन् । राष्ट्रिय ध्वजावाहक जहाज नहुँदा नेपालले विभिन्न देशमा सीधा उडान गर्न सकेको छैन । सीधा उडान नहुँदा जहाज भाडा महँगो हुने र समय पनि धेरै लाग्ने भएकाले पछिल्लो समय नेपालभन्दा अन्य देशमै पर्यटक आकर्षित हुन थालेका हुन् । नेपाल एयरलाइन्ससँग अहिले १० ओटा ठूला जहाज भएको भए यसरी भ्रमण वर्षहरु मनाउन आवश्यकता नै पर्दैनथ्यो । त्यही जहाजमार्फत वार्षिक ३५ देखि ४० लाख पर्यटक ल्याउन सकिन्थ्यो । पहिला नेपाल एयरलाइन्सको जहाज जर्मनी उडान गर्दा वार्षिक ४९ हजार, लन्डन र ओसाकाबाट ४७÷४७ हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए । अहिले त्यो सङ्ख्या आधाभन्दा पनि कम छ । पर्यटकको सङ्ख्या कम हुनुको मुख्य कारण नेपालको जहाजले सीधा उडान नगर्नु नै हो ।

अहिले सरकारले धेरै मुलुकसँग हवाई सम्झौता गरे पनि सीधा उडान भने हुन सकेको छैन । सरकारी ध्वजावाहक जहाज नहुँदा यस्तो स्थिति आएको हो । अर्कोतिर नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अरु अन्तर्राष्ट्रिय विमानस्थल छैनन् । भैरहवा, पोखरालगायत क्षेत्रमा निर्माणधीन विमानस्थल सञ्चालन आएपछि नेपालमा जहाजको सङ्ख्या पनि बढ्ने र पर्यटकको आगमनमा पनि वृद्धि हुने अपेक्षा भने गर्न सकिन्छ ।

शेर्पा नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष हुन्

क्यापिटल बिजनेस म्यागजिनबाट