आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन सुरु गरिएको होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिइन् ।
गोरखा । गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन सुरु गरिएको होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिइन् ।
स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रवद्र्धन गर्दै त्यहाँका कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसारका लागि होमस्टे सञ्चालनमा ल्याइएको उनले बताइन् । गुरुङ जातिको बाहुल्यता रहेको आरुबोटेमा सुरु गरिएको उक्त होमस्टेमा बास बस्न पुग्ने पाहुनाहरुले गुरुङ समुदायको कौडा, रोधीलगायत कलासंस्कृतिसँग समेत रम्न र रमाउन पाउने अध्यक्ष गुरुङको भनाइ छ ।
ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि होमस्टेले महत्वपूर्ण टेवा पु¥याउने अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाभित्रै पहिलो पटक होमस्टे सञ्चालनमा आएकाले यसको प्रचारप्रसारलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताइन् ।
‘सिरानचोक गाउँपालिकाभित्र रहेका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको प्रचार–प्रसार गर्न र यहाँ आउने पर्यटकहरुलाई खानाबस्नको सेवासुविधा पु¥याउने उद्देश्यले होमस्टे सञ्चालनमा गरिएको हो,’ उनले भनिन्, ‘यहाँ आउने पर्यटकहरुले इमल पोखरी, क्षण गुफा, ऐतिहासिक सिरानचोक गढी दरबारकोसमेत अवलोकन गर्न पाउनेछन् ।’
त्यस्तै होमस्टेमा पुग्ने पाहुनाहरुले माउन्टेन किलरका रुपमा चिनिने मनासलु हिमाललगायत गणेश हिमाल, बौद्ध हिमालको दृश्यावलोकन गर्नसमेत पाउने अध्यक्ष गुरुङले बताइन्। होमस्टे सञ्चालनका लागि स्थानीयवासीले आफ्नै पहलमा ५० लाखभन्दा बढीको लागतमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नका लागि सामुदायिक भवनसमेत निर्माण गरेका छन् ।
होमस्टेमा आउने पाहुनालाई स्वागत गर्नका लागि अहिले प्रवेशद्वार निर्माण गर्ने तयारी भए पनि आर्थिक अभावका कारण समस्या हुादै आएको उनले बताइन् ।
क्होला होमस्टेमा आउने पर्यटकहरुले स्थानीय उत्पादन हुने कोदो ढिँडो, लोकल कुखुराको मासु, सिस्नो, भटमास, टिमुरको अचारलगायत परिकारको स्वाद चाख्न पाउनेछन् ।
अध्यक्ष गुरुङले होमस्टेमा अहिले केही समयका लागि थोरै मात्र पर्यटक राख्न सक्ने भए पनि आउँदो असोज–कात्तिक महीनादेखि दैनिक दुई जनासम्म पाहुनालाई राख्न सक्ने गरी पूर्वाधार विकासको कामसमेत अघि बढाइएको बताइन् । रासस