विद्युत् व्यापारको लाइसेन्स लिँदै नेपाल पावर एक्सचेन्ज

हाल नेपाल विद्युत् प्राधिकरणबाट मात्र बिजुली खरिदबिक्री हुँदै आएकोमा अब कम्पनी नै स्थापना गरेर विद्युत् व्यापार गर्नका लागि निजी क्षेत्र अगाडि बढेको हो । एक दर्जन ऊर्जा उद्यमीको सक्रियतामा एक्सचेन्जलाई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भइसकेको छ ।

काठमाडौं । निजी लगानीमा स्थापना गरिएको नेपाल पावर एक्सचेन्ज लिमिटेडले विद्युत् व्यापारको काम सुरु गर्न सरकारसँग अनुमति (लाइसेन्स) लिने तयारी थालेको छ । केही दिनभित्र कम्पनीले लाइसेन्सका लागि विद्युत् विकास विभागमा आवेदन दिने स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) का उपाध्यक्ष कुमार पाण्डेले बताए ।

क्यापिटल नेपालसँग कुरा गर्दै पाण्डेले भने, ‘लाइसेन्स पाएपछि हामी काम सुरु गर्ने छौं ।’ हाल नेपाल विद्युत् प्राधिकरणबाट मात्र बिजुली खरिदबिक्री हुँदै आएकोमा अब कम्पनी नै स्थापना गरेर विद्युत् व्यापार गर्नका लागि निजी क्षेत्र अगाडि बढेको हो । एक दर्जन ऊर्जा उद्यमीको सक्रियतामा एक्सचेन्जलाई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भइसकेको छ । २ महिनाअघि स्थापना भएको यस कम्पनीको पुँजी २ करोड रुपैयाँ छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईं कम्पनीका अध्यक्ष भएका छन् ।

यस्तै ऊर्जा उद्यमीहरु ज्ञानेन्द्रलाल प्रधान, कुमार पाण्डे, आशिष गर्ग, कुशकुमार जोशी, नरेन्द्र पन्त, सुधीरप्रसाद तिमल्सिनालगायत एक दर्जन ऊर्जा उद्यमीको लगानी छ । उनीहरुले हाइड्रो सलुसन्स प्रालि, नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नाग्दी ग्रृुप लिमिटेड, लिबर्टी इनर्जी लिमिटेड, पिखुवाखोला हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडमार्फत लगानी गरेका छन् । पावर एक्सजेन्ज कम्पनीले नेपालका जलविद्युत् आयोजनाका अतिरिक्त भारतीय कम्पनीसँग विद्युतको आयात र निर्यात व्यापार गर्ने छ । पावर एक्सेचन्ज कम्पनीका लागि विद्युत् ऐन संशोधनको काम सुरु भएको छ ।