एनबी बैङ्कले २ अर्बको ऋणपत्र निष्कासन गर्दै, १०.५ प्रतिशत ब्याज दिने

कुल निष्कासन मध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारण र १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता संस्थागत लगानीकर्तालाई सुरक्षित गरिएको बैङ्कले जनाएको छ ।

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंङ्कले ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैङ्कलाई २ अर्ब रुपैयाँ २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।

बैङ्कले लगानीको स्रोत जुटाउन ऋणपत्र निष्कासन गर्न लागेको हो । १० वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याजदर १०.५ प्रतिशत रहेको बैङ्कले जनाएको छ । ऋणपत्र वि.स. २०८५ मा परिपक्व हुने छ ।

कुल निष्कासन मध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारण र १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता संस्थागत लगानीकर्तालाई सुरक्षित गरिएको बैङ्कले जनाएको छ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नविल मर्चेन्ट बैङकिङ लिमिटेड रहेको छ । साउनयता विभिन्न ८ ओटा वाणिज्य बैङ्कले १८ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ७५ लाख ८० हजार कित्ता ऋणपत्र निष्कासन गरेका छन् ।

लगानीयोग्य पुँजीको अभाव भएपछि बैङ्कहरुले ऋणपत्र निष्कासन गरेर रकम जुटाउन थालेका छन् । मुद्धति निक्षेपको भन्दा आकर्षक ब्याजदर भएपनि लगानीकर्ताले ऋणपत्रमा खासै चासो देखाएका छ्रैनन ।