काठमाडौं चक्रपथ सडक मर्मतको काम सुरु

गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत सुरु भएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

काठमाडौं । कोटेश्र–कलङ्की सडकमा बालकुमारी, ग्वार्खो, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम सुरु भएको छ । गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत सुरु भएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार यी तीन स्थानमा कालोपत्र पग्लने, उप्कनेलगायतका समस्या देखिएकाले मर्मतको काम भइरहेको हो । उहाँनले भने, ‘सडकमा सबैभन्दा माथिल्लो तहको कालोपत्र उप्काएर काम भइरहेको छ ।’

सडक, पुललगायतका संरचनामा कुनै पनि खालको समस्या आउँदा एक वर्षसम्म त्यसको मर्मतको जिम्मेवारी ठेकेदार कम्पनीको नै हुने इञ्जिनीयर शर्माले बताए । उनले चिनियाँ निर्माण समूह सङ्घाई निर्माण सेवा समूहले पनि यहाँको सडकमा अहिले निरीक्षणको काम गरिरहेको जानकारी दिए । उनले भने, ‘कुनै पनि खालको समस्या आउँदा उनीहरुले तुरुन्त काम गरिहाल्छन् ।’

चक्रपथको पहिलो चरण कोटेश्वर–कलङ्की सम्पन्न भएसँगै चीन सरकारले दोस्रो खण्ड (कलङ्कीदेखि महाराजगञ्ज) को पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ ।रासस