अघिल्लो पटक ल्याएको ब्रुमर बिग्रियो, फेरि ४ करोड ४० लाख खर्चेर ४ ओटा ब्रुमर थप्दै महानगर

यसअघि ल्याइएका ५ ओटामध्ये दुईओटा ब्रुमर बिग्रिएर थन्किरहेका बेला महानगरले फेरि ठूलो रकम खर्चेर ब्रुमर ल्याउन लागेको हो । महानगरले सडक धूलोमुक्त गर्ने भन्दै ११ करोड रुपैयाँ खर्चेर ५ ओटा ब्रुमर ल्याएको थियो । तर, तीमध्ये अहिले २ ओटा बिग्रिएर थन्किएका छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले फेरि ब्रुमर खरिद गर्ने भएको छ । ४ करोड ४० लाख रुपैयाँ खर्चेर थप ४ ओटा नयाँ ब्रुमर ल्याउन लागेको महानगरले जनाएको छ । ४ ओटामध्ये २ ओटा ब्रुमर चिनिँया अनुदान सहयोगमा र २ ओटा महानगर आफैँले खरिद गर्न लागेको महानगरका प्रवक्ता इश्वरमान डङ्गोलले जानकारी दिए ।

यसअघि ल्याइएका ५ ओटामध्ये दुईओटा ब्रुमर बिग्रिएर थन्किरहेका बेला महानगरले फेरि ठूलो रकम खर्चेर ब्रुमर ल्याउन लागेको हो । महानगरले सडक धूलोमुक्त गर्ने भन्दै ११ करोड रुपैयाँ खर्चेर ५ ओटा ब्रुमर ल्याएको थियो । तर, तीमध्ये अहिले २ ओटा बिग्रिएर थन्किएका छन् । बिग्रिएका ब्रुमर मर्मत गरेपछि पुनः सञ्चालनमा ल्याइने महानगरले जनाएको छ ।

महानगरको सडक ब्रुमर मैत्री नहुँदा ब्रुमर बिग्रिने समस्या आएको डङ्गोलले बताए । ‘हाम्रो सडक निकै साघुँरा छन् । ब्रुमर चलाउन निकै कठिन हुने गर्छ l’ उनले भने, ‘सडक छेउ र पेटीको धूलो र हिलो ब्रुमरले सफा गर्नै सक्दैन् ।’

अहिले दैनिक ८ घन्टा सञ्चालन हुने बु्रमरले प्रत्येक रात ८ देखि १० टन धुलो सफा गर्ने गरेको महानगरको दाबी छ । तर, अझैपनि सडकको धूलो भने कम हुन नसकेको महानगरबासी बताउँछन् । महानगरले बु्रमर सञ्चालनका लागि मात्रै २५ जना जनशक्तिसमेत खटाएको छ ।