सगरमाथाको सरसफाइदेखि फास्ट ट्र्याक बनाउन सेनाकै भर

सडक र पुलसँगै नेपाली सेनाले अन्य आयोजना निर्माणमा पनि जिम्मा पाएको छ । खासगरी बारा र पर्सामा हावाहुरीका कारण क्षतिग्रस्त घरहरु बनाइदिने गरी सेनाले काम गरिरहेको छ । अहिले त्यसक्षेत्रका विभिन्न ३ तहमा घर निर्माणको काम सेनाले बनाउन सुरु गरेको छ । त्यसक्षेत्रमा झन्डै १४०० घर आगामी साउनभित्रै निर्माण सम्पन्न गर्ने सेनाको लक्ष्य छ ।

काठमाडौं । पछिल्लो समय सरकारले ठूला आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिँदै आएको छ । नेपाली सेनालाई जिम्मा दिएका आयोजनाका कामह धमाधम भइरहेका छन् ।

नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य, जोखिमयुक्त र कठिन पूर्वाधार जस्तै सडक, पुल, पुनर्निर्माणका कामसमेत गरिरहेको छ ।

अहिले नेपाली सेनाले राष्ट्रिय महत्वका ठूला सडक आयोजना धमाधम निर्माण गरिरहेको छ । जसमध्ये कर्णाली करिडोर १४५ किमिमध्ये हालसम्म ९९ किमि सडक खन्ने काम सकिएको छ । गत आवसम्ममा ९२ किमि र चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ किलोमिटर सडक निर्माण भएको छ । सेनाले चालू आवमा ८ किमि सडक निर्माण गर्ने लक्ष्य लिएको थियो । त्यस्का लागि चालू आवमा २० करोड बजेट छुट्टिएको छ ।

बाजुरा जिल्लामा ७२ किमि सडक खन्ने काम सम्पन्न गरी यातायात सुचारु भइसकेको छ । कुवाडीखोला ८४ किलोमिटर सडक खन्ने काम सकिएको छ । कुवाडीखोलामा पुल जडान गर्नका लागि खरिद प्रक्रिया अघि बढेको छ ।

कालीगण्डकी कुल ८० किमिमध्ये गुल्मी रुद्रवेणीदेखि अर्बेनी २१ किमि ट्र्याकमा १० मिटर सडक चौडा पार्ने काम भइरहेको छ । बागलुङको बलेवादेखि मालढुङ्गासम्म १० किमि सडक १० मिटर चौडा पार्ने काम भइरहेको छ । चालू आर्थिक वर्षमा ३१ किमि सडक १० मिटर चौडा पाने लक्ष्यअनुसार काम भइरहेको छ । हालसम्म २९.५ किमि सडक १० मिटर चौडा पार्ने काम सकिएको छ ।

कालीगण्डकी करिडोरअन्र्तगत बागलुङ खण्डमा ५ ओटा बेलिब्रिज निर्माण पनि सम्पन्न भएका छन् । उक्त आयोजनालाई सरकारले चालू आवमा ३० करोड बजेट छुट्याएको थियो ।

बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ ११८ किमि सडकमध्ये हालसम्म २२.७ किमि सडक निर्माणको काम सकिएको छ । जाजरकोट—डोल्पा—दुनै सडक ११७ किलोमिटरको ट्र्याक निर्माण कार्य यसअघि नै सेना डोल्पा सदरमुकाम दुनैलाई सडक सञ्जालसँग जोडिसकेको छ । चालू आवमा २ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । गतवर्ष नै यातायात सञ्चालन आइसकेको छ । अहिले उक्त खण्डको सडक विस्तार तथा स्तरोन्नतीको काम भइरहेको छ ।

सुपानी—दुनै सडक खण्डमा १०३ किलोमिटर सडकको सुधार तथा स्तरोन्नति कार्यका लागि काम भइरहेको छ । राष्ट्रिय महत्वका ४ ओटा सडक आयोजनामा हालसम्म करिव ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको सेनाले जनाएको छ ।

त्यस्तै, काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको काम पनि सेनाले अघि बढाइसकेको छ । राष्ट्रिय महत्वको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) रिपोर्ट प्राप्त भएको र त्यसको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि डीपीआरले अन्तिम रुप पाउने छ । यसअघि ७६.२ किमि दूरीको दु्रतमार्ग सुरुङ निर्माण र अन्य कारणले दुरी घटाइएको छ । अहिले दु्रतमार्गको दूरी ७२ किलोमिटर छ ।

हालसम्म सेनाले दु्रतमार्ग निर्माणका लागि खोकनाबाहेक अन्य सबै ठाउँको रुख कटान र मुआब्जा वितरणको काम सकिएको छ । त्योबाहेक अन्य सडक निर्माण र ठेकेदार छनोट भई औपचारिक रुपमा काम सुरु गर्न सेना तयार छ । अहिले सेनाले सरकारबाट स्वीकृत भएर आएको दु्रतमार्गको डीपीआर रिपोर्टको पर्खाइमा छ । अहिले पुल निर्माणका लागि ६ ओटा कम्पनी सूचीकृत भएका छन् ।

चालू आर्थिक वर्षको आठ महिनासम्म सेनाले जिम्मा लिएका सबैजसो आयोजनामा ९० प्रतिशत भौतिक प्रगति हासिल गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानराज पाण्डेले बताए ।

बारा र पर्सामा १४०० घर साउनभित्र बनाइसक्ने लक्ष्य

सडक र पुलसँगै नेपाली सेनाले अन्य आयोजना निर्माणमा पनि जिम्मा पाएको छ । खासगरी बारा र पर्सामा हावाहुरीका कारण क्षतिग्रस्त घरहरु बनाइदिने गरी सेनाले काम गरिरहेको छ । अहिले त्यसक्षेत्रका विभिन्न ३ तहमा घर निर्माणको काम सेनाले बनाउन सुरु गरेको छ । त्यसक्षेत्रमा झन्डै १४०० घर आगामी साउनभित्रै निर्माण सम्पन्न गर्ने सेनाको लक्ष्य छ ।

त्यस्तै, पुननिर्माणको काम पनि सेना अघि छ । यसअघि गोरखाको बारपाकमा पनि नेपाली सेनाले घर बनाउँदै आएको छ । हालसम्म ७६ प्रतिशत घर सेनाले बनाइसकेको पाण्डेले बताए ।

त्यस्तै, वन्यजन्तु संरक्षणका लागि पनि सेना खटाइएको छ । अहिले सगरमाथा बेस क्याम्पको सरसफाइमा पनि सेनानै लागि परेको छ । अन्तर्राष्ट्रिय वातावरण दिवश मनाउन र आगामी पर्यटन बर्षलाई लक्षित गरी सगरमाथा बेस क्यामको सरसफाइ सुरु भइसकेको छ । अहिले सेनाको टोली सरसफाइका लागि सगरमाथा बेस क्याम्पमा खटिएको पाण्डेले बताए ।