आयात  र उत्पादन ४२ अर्ब, तस्करको कब्जामा ३ खर्बको बजार

काठमाडौं । भन्सारका कर्मचारी र तस्करको मिलेमतोमा ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको कपडा तस्करी भएर नेपाल भित्रिने गरेको खुलेको छ । नेपाली बजारमा ३ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको कपडा खपत भइरहेको भए पनि सरकारी आँकडा अनुसार अायात र स्वदेशी उत्पादन सहित गरि ४२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कपडा मात्रै बैधानिक बाटोबाट नेपाल भित्रिएको देखाएको छ । बाँकी कपडा तस्करी भएर नेपाल आउने गरेको कपडा उद्योग सङ्घले दाबी गरेको छ ।

कपडा उद्योग सङ्घका अनुसार बैधानिक तहबाट ४२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कपडा नेपाल भित्रिएको र ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको कपडा तस्करी भएर नेपाल भित्रिने गरेको छ ।

भन्सारमा बसेका कर्मचारीसँग मिलेर तस्करीले खर्बौ रुपैयाँ बराबरका कपडा नेपाल ल्याउने गरेको सङ्घको दाबी छ । सङ्घले भारतमा खपत हुने कपडाको तथ्याङ्कलाई आधार मानेर नेपालको कपडाको खपत निकालेको हो ।

सन् २०१७ मा भारतमा प्रतिव्यक्ति प्रतिवर्ष ६७.२१ अमेरिकी डलरबराबरको कपडा खपत हुन्छ । भारतमा कपडा र कपडाजन्य बस्तुको खपत बार्षिक वृद्धिदर ८.५ प्रतिशत छ । सन् २०१८ मा भारतमा प्रतिव्यक्ति कपडाको खपत ७२.९२ अमेरिकी डलर पुगेको छ । यसलाई आधार मान्दा नेपालमा बार्षिक कपडाको खपतको वृद्धिदर १० प्रतिशत भइ ८०.२१ अमेरिकी डलर हुन आउँछ ।

नेपालमा कपडा आयात गर्दा नेपालमा लाग्ने भन्सार, भाडा, मूल्य अभिवृद्धि कर ३५ प्रतिशत लाग्छ । ३५ प्रतिशत जोडदा १०८ अमेरिकी डलर पुग्छ । एक डलर बराबर १११ रुपैयाँ मान्दा एउटा व्यक्तिले बार्षिक १२ हजार १९ रुपैयाँ बराबरको कपडा खपत गर्ने उद्योग सङ्घका उपाध्यक्ष जीतेन्द्र लोहियाले बताए ।

उनका अनुसार नेपालको जनसङ्ख्या २ करोड ९५ लाख पुगेको छ । १२ हजार १९ रुपैयाँ र २ करोड ९५ लाख गुणान गर्दा बार्षिक ३ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको कपडा नेपाल आउने गरेकोे उनको अनुमान छ ।

तर, भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा बैधानिक बाटोबाट बार्षिक रुपमा २९ अर्ब  रुपैयाँ बराबरको मात्रै कपडा आयात हुने गरेको देखिएको छ ।

यति ठूलो परिमाणमा कपडा तस्करी भएर नेपाल भित्रिँदा पनि सरकारी ध्यान जान नसकेको कपडा उद्योग सङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए ।

विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका नाकाबाट ठूलो परिमाणमा कपडा तस्करी भएर नेपाल भित्रिँदा पनि सरकार बेखबर भएको अध्यक्ष प्रधानको जानकारी दिए ।