प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डीपीआर बनाउन दिएको थियो ।
बलेवा । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डीपीआर’ बनाइएको हो ।
मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डीपीआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताए । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ ।
प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डीपीआर बनाउन दिएको थियो । उक्त कन्सल्टेन्सीले बनाएको डीपीआर प्राधिकरणलाई हस्तान्तण गरिएको अधिकारीले बताए । ‘विमानका लागि ७०० मिटर लामो र १०० मिटर चौडाको रनवे, केही पार्किङ बनाउन सकिने सम्भावना छ’, अधिकारीले भने, ‘समुद्री सतहबाट दुई हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम छ ।’
यो स्थान बुर्तिवाङ बजारदेखि पाँच किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो उपयुक्त हुने उनले बताए ।
आरक्षभित्र पनि दशकौँ अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकाले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाएमा पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताए ।
ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयवासीको मत छ । डिपिआरले दुई अर्ब रुपेयाँमा ट्वीनअटर विमान आउने स्तरीय हवाईमैदान बनाउन सकिने सुझाव पनि दिएको छ ।
प्रारम्भिक अध्ययनका लागि भने ४० लाख रुपैयाँ खर्च भइसकेको छ । यो स्थान सदरमुकाम बागलुङबजारदेखि १०० किमी पश्चिममा पर्छ । बागलुङमा दुई हवाईमैदान छन् । बलेवाको मैदानमा केही समय जहाज आउजाउ गरेर स्थगित अवस्थामा छ । प्राविधिक कारणले उडान स्थगन भएको छ । अर्को ढोरपाटनमा छ । उक्त मैदान अहिले बन्द छ ।
यहाँ सिकार आरक्षका लागि आउने पर्यटक आउजाउमा प्रयोग गर्थे । पछिल्लो समय हेलिकोप्टर लिएर आएका सिकारीले ब्लकमा पुगेर अवतरण गर्न थालेपछि यो विमानस्थल पनि अलपत्र जस्तै अवस्थामा रहेको छ । रासस