नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत २८ जलविद्युत् कम्पनीमध्ये ९ को सेयर मूल्य १०० रुपैयाँभन्दा तल छ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी भएको छ । चिलिमेको सेयर प्रतिकित्ता ५३० रुपैयाँ छ ।
काठमाडौं । जलविद्युत् कम्पनीमा सेयर लगानीकर्ताको आकर्षण घट्दै गएको छ । लगानीकर्ताले राम्रो प्रतिफल नपाउने र लामो समय कुर्नु पर्दा यसको असर जलविद्युत् कम्पनीहरुमा परेको हो । साधारण सेयर (आईपीओ) निष्कासन गर्दा केही कम्पनीको बिक्री हुन सकेन । पछिल्लो समयमा युनियन हाइड्रोपावर कम्पनीको आईपीओ बिक्री हुन सकेन ।
जलविद्युत् कम्पनीको सेयर मूल्य घटेर ६८ रुपैयाँमा पाइन थालेको छ । प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य भएको जलविद्युतको सेयर मूल्यमा व्यापक गिराट आउँदा फेस भ्यालुभन्दा कममा पाउन थालिएको हो । सबैभन्दा कम सेयर मूल्य नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको छ । नेसनलको १०० रुपैयाँको सेयर अहिले ५८ रुपैयाँमा पाइन्छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत २८ जलविद्युत् कम्पनीमध्ये ९ को सेयर मूल्य १०० रुपैयाँभन्दा तल छ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी भएको छ । चिलिमेको सेयर प्रतिकित्ता ५३० रुपैयाँ छ । यस्तै बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को सेयर मूल्य ३६७, सानिमामाई हाइड्रोपार कम्पनी लिमिटेडको २५७, अपरतामाकोसी हाइड्रोपावर लिमिटेडको २३४ र पाँचथर पावर कम्पनी लिमिटेडको २०६ रुपैयाँ छ । २०० रुपैयाँभन्दा बढी सेयर मूल्य हुनेमा ५ जलविद्युत् कम्पनी रहेको नेप्सेले जनाएको छ ।
१०० रुपैयाँभन्दा कम सेयर मूल्य हुनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, वरुण हाइड्रोपावर लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, रैराङ हाइड्रोपावर कम्पनी लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेड छन् ।
सेयरधनीलाई राम्रो प्रतिफल दिनेमा चिलिमे र बीपीसी मात्र छन् । यी दुई कम्पनीले २५ प्रतिशत हारहारीमा लाभांश दिँदै आएका छन् ।