आगामी वर्ष हालसम्मकै सर्वाधिक विद्युत उत्पादन हुने विद्युत प्राधिकरणले तयार पारेको नयाँ प्रक्षेपणले देखाएको हो ।हालसम्म प्रणालीमा विद्युत उत्पादन १ हजार १०० मेगावाट हारहारीमा छ । हालसम्म प्रणालीमा भएको उत्पादन बराबर १ वर्षमा थप हुने देखिएको छ ।
काठमाडौं । आउँदो आर्थिक वर्ष ०७६/७७ मा हालसम्मकै सर्वाधिक विद्युत उत्पादन हुने भएको छ । आगामी वर्ष हालसम्मकै सर्वाधिक विद्युत उत्पादन हुने विद्युत प्राधिकरणले तयार पारेको नयाँ प्रक्षेपणले देखाएको हो ।
नेपाल विद्युत प्राधिकरणको प्रक्षेपण अनुसार आगामी आर्थिक वर्षभित्र सार्वजनिक र निजी लगानीमा निर्माणधिन साना र ठूला गरी ४३ ओटा आयोजना सम्पन्न भई प्रणालीमा १ हजार १४९ मेगावाट बिजुली थप हुने छ ।
हालसम्म प्रणालीमा १ हजार १०० मेगावाट हारहारीमा विद्युत उत्पादन भइरहेको छ तर, अब एक वर्षमा नै हाल उत्पादन भइरहेको परिमाण बराबरको विद्युत् थप हुने प्राधिकरणको प्रक्षेपण छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी सम्पन्न हुने भएपछि विद्युत उत्पादन बढेर १ हजार १४९ मेगावाट पुग्ने प्रक्षेपण गरिएको विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
आगामी वर्षका लागि हालसम्म यो परिमाणमा विद्युत उत्पादन हुने अनुमान गरिएको बताउँदै अधिकारीले भने, ‘लक्ष्यमा राखिएका केही आयोजना सम्पन्न नहुन पनि सक्छन । तर पनि आगामी वर्ष अधिक विद्युत उत्पादन थप हुनेछ’ ।
निर्माणधिन माथिल्लो तामाकोशीबाट आउँदो पुससम्म बिजुली उत्पादन गर्ने लक्ष्य लिएको उनले सुनाए । तामाकोशी नआए लक्ष्य पूरा नहुने उनले स्पष्टपारे । माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि देशको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) १ प्रतिशत थप हुने अनुमान गरिएको छ ।
सरकारले अघिल्लो साता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । आगामी वर्ष माथिल्लो तामाकोसीको अतिरित्त १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन आयोजना सम्पन्न हुने भएका छन् । माथिल्लो तामाकोसी, रसुवागढी र सान्जेन आयोजना सार्वजनिक निजी साझेदार (पीपीपी) खाकामा निर्माण भइरहेका छन् ।
यस्तै निजी क्षेत्रबाट ४२ मेगावाटको मिस्त्रीखोला, ३६ मेगावाटको अपर वलेफी ए, २५ मेगावाटको अपरदोर्दी ए, २७ मेगावाटको दोर्दीखोला, ४० मेगावाटको खानीखोला ए, २२ मेगावाटको चाकुखोला, २५ मेगावाटको सिंगटीखोला, ८२ मेगावाटको तल्लोसोलु, २४ मेगावाटको खहरेखोला, ३० मेगावाटको खानीखोला र २५ मेगावाटको दरवाङ्ग म्याग्दीलगायत जलविद्युत आयोजना रहेका छन् ।
चालु आर्थिक वर्षमा सार्वजनिक र निजी साझेदारमा गरी २३२ मेगावाट बिजुली उत्पादन हुने प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणको लगानीको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र १४ मेगावाटको कुलेखानी आयोजना सम्पन्न हुँदैछन् । त्रिशूली ३ ‘ए’ को काम सम्पन्न भई विद्युत उत्पादन भइसकेको छ ।
हालसम्म १०० मेगावाट बिजुली थप भएको प्राधिकरणले जनाएको छ । पछिल्लो ४ वर्षमा विद्युत उत्पादन वार्षिक १०० मेगावाटका दरले थप हुँदै गएको छ । निजी क्षेत्रबाट १५७ मेगावाट थप हुने अनुमान गरिएको छ । यो वर्ष पूरा नभएका आयोजना आगामी वर्ष हुने छन् ।