मर्जरमा जान ग्लोबल आईएमई बैङ्कले सीईओ नियुक्त नगर्ने, जुनसँग मर्जर हुन्छ त्यहीँकालाई सीईओ बनाउने

ग्लोबलले हालै नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरी मर्जरको प्रक्रिया सुरु भएकाले तत्काल सीईओ नियुक्त नगर्ने जानकारी गराएको हो । लामो समयसम्म बैङ्कलाई सीईओविहीन बनाउन नपाइने व्यवस्था छ ।

काठमाडौं । ग्लोबल आईएमई बैङ्क मर्जरमा जाने भएपछि तत्काल प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त नगर्ने भएको छ । ग्लोबलले हालै नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरी मर्जरको प्रक्रिया सुरु भएकाले तत्काल सीईओ नियुक्त नगर्ने जानकारी गराएको हो ।

ग्लोबलले विभिन्न बैङ्कसँग छलफल भइरहेको र जुन बैङ्कसँग मर्जर हुन्छ, त्यहीँको सीईओ हुने जानकारी गराएको ग्लोबल स्रोतले बतायो । लामो समयसम्म बैङ्कलाई सीईओविहीन बनाउन नपाइने व्यवस्था छ ।

जनक शर्मा पौडेलले राजीनामा गरेपछि ३ महिनादेखि ग्लोबल आईएमई सीईओविहीन छ । मर्जरमा जान तयारीमा रहेकाले ग्लोबलले तत्काल नयाँ सीईओ नियुक्त नगरेको स्रोतको भनाई छ । ग्लोबलले मर्जरका लागि नेपाल बंगलादेश बैङ्क र कुमारी बैङ्कसँग छलफल गरिरहेको जनाएको छ ।

ग्लोबलले मर्जरका लागि दुई ओटै बैङ्कसँग एक साथ छलफल गरिरहेको छ । निश्कर्षमा भने पुगेको छैन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कले मर्जरमा जान दबाव बढाएपछि ग्लोबल आईएमईलगाय अधिकांश बैङ्कले प्रक्रिया अघि बढाएका छन् ।

पुँजीगत आधार बढाउन र प्रतिस्पर्धी बनाउन ग्लोबल आईएमईले मर्जरमा जाने तयारी थालेको हो । यसअघि उसले कमर्ज एन्ड ट्रष्ट बैङ्कलाई प्राप्ति गरेको थियो ।