गौतम बुद्ध विमानस्थल आयोजनाका लागि ७० करोड निकासा

अर्थसँग ओफिट शीर्षकमा एडीबीको १ अर्ब ३ करोड रुपैयाँ रहेकामा ७० करोड रुपैयाँ गौतम बुद्ध विमानस्थलमा खर्च गर्ने गरी स्रोतान्तर गरेको हो । अर्थले सो रकम स्रोतान्तर गरेलगत्तै पर्यटन मन्त्रालयले सोमबार एडीबीमा निवेदन पठाउने जनाएको छ ।

काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेको छ । एसियाली विकास बैङ्क (एडीबी)ले विमानस्थलका लागि छुट्याएको रकम सकिएपछि अर्थमन्त्रालयले सो रकम स्रोतान्तर गरेको हो ।

अर्थसँग ओफिट शीर्षकमा एडीबीको १ अर्ब ३ करोड रुपैयाँ रहेकामा ७० करोड रुपैयाँ गौतम बुद्ध विमानस्थलमा खर्च गर्ने गरी स्रोतान्तर गरेको हो । अर्थले सो रकम स्रोतान्तर गरेलगत्तै पर्यटन मन्त्रालयले सोमबार एडीबीमा निवेदन पठाउने जनाएको छ । पर्यटनको निवेदन गएलगत्तै एडीबीले सीधै निर्माण कम्पनीको नाममा रकम पठाउने छ र निर्माण कम्पनीले भुक्तानी पाएपछि काम पुनः सुचारु गर्ने बताइएको छ ।

निर्माण कम्पनी नर्थवेस्टले तीन सातादेखि रकम भुक्तानी नगरेको भन्दै आइतबारबाट आयोजना निर्माणको काम रोकेको थियो । आयोजना निर्देशनालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिल रोकेका कारण भुक्तानी हुन नसकेको जनाएको थियो ।

तर, पर्यटन मन्त्रालयले भने आयोजनाका लागि यो वर्ष खर्च गरिने रकम १९औं बिलमै सकिएको र २०औं बिलको भुक्तानी गर्न रकम नभएका कारण रोकिएको जनाएको छ । मन्त्रालयका सहसचिव नीता पोखरेलले आयोजनाले आफ्नो बजेट नै नहेरी खर्च गरेको र बिल पठाएका कारण रकम निकासामा ढिलाइ भएको बताइन् । आयोजनाले बिल पठाएलगत्तै अर्थ मन्त्रालयमा पत्र पठाएको र अर्थले आइतबार रकम स्रोतान्तर गरेको जानकारी दिइन् ।

विमानस्थलको यो वर्षको बजेट ५९ करोड ४१ लाख रुपैयाँ थियो । तर सो रकम पहिला नै सकिएका कारण थप रकम खर्च गर्नका लागि अर्थले स्वीकृत नगर्दा समस्या उत्पन्न भएको जनाएको छ ।

याे पनि हेर्नुहाेस् ।

पैसा नपाएपछि गौतमबुद्ध विमानस्थलको ठेकेदार नर्थवेस्टले रोक्यो काम