सुनसरीका बाढी पीडितका लागि १ करोड ५० लाखमा नमूना बस्ती बन्दै, २५ घरको शिलान्यास

बढीमा छ महीनाभित्र निर्माण कार्य सम्पन्न गरी सम्बन्धित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिएको प्याब्सनले नमूना बस्ती निर्माणको अनुमानित लागत एक करोड ५० लाख रुपैयाँको हाराहारीमा रहने जनाइएको छ ।

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो ।

सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गरे। सो अवसरमा कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी र १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे सहभागी थिए।

रामधुनी नगरपालिकाले उपलब्ध गराएको करीब एक बिघा क्षेत्रफलमा सुविधा सम्पन्न बस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले जनाकारी दिए ।

बाढी पीडित र विपन्न समुदायलाई लक्षित गरी तयार पार्न पारिएको बस्तीका प्रत्येक घर दुई कोठे हुनेछन् । शौचालय र खानेपानीको उचित प्रबन्धसहितको बन्दोबस्ती मिलाइने नमूना बस्तीमा चिल्ड्रेन पार्कको समेत व्यवस्था गरिने अध्यक्ष कोइरालाले बताए ।

बढीमा छ महीनाभित्र निर्माण कार्य सम्पन्न गरी सम्बन्धित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिएको प्याब्सनले नमूना बस्ती निर्माणको अनुमानित लागत एक करोड ५० लाख रुपैयाँको हाराहारीमा रहने जनाइएको छ ।