प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई वर्षभित्र प्रसारण लाइनको डीपीआर बनाउने दुईदेशीय सम्झौताअनुसार प्रसारण लाइनको सर्भे, अध्ययन, डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको छ ।
काठमाडौं । आगामी डेढ वर्षभित्र ४०० केभी रसुवागढी-चिलिमे-गल्छी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई वर्षभित्र प्रसारण लाइनको डीपीआर बनाउने दुईदेशीय सम्झौताअनुसार प्रसारण लाइनको सर्भे, अध्ययन, डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको छ ।
दुईदेशीय सम्झौता भएको ६ महिना पूरा भएको र आगामी डेढ वर्षभित्र सम्पूर्ण अध्ययन र डीपीआर निर्माणका काम सम्पन्न गरी आयोजना निर्माणतर्फ लाग्नुपर्ने आयोजना प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिए । उनका अनुसार, अहिले नेपालका तर्फबाट पूर्वसम्भाव्यता अध्ययन, डिजाइन र ईआईएलगायतका काम भइरहेका छन् । चिनियाँ पक्षसँग पनि सहमति र सम्झौताअनुसार प्रतिवेदन पठाइरहेको उनले बताए ।
उनले आगामी डेढ वर्षभित्र सम्पूर्ण अध्ययन र डीपीआरको काम सम्पन्न गरी ६ वर्षभित्र प्रसारण लाइन निर्माण गरिसक्ने लक्ष्य लिएको बताए ।
स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाले पूर्वसम्भाव्यता अध्ययन र डिजाइनको काम गरिरहेको छ । उक्त कम्पनीले डेढ वर्षभित्र अध्ययनको काम सम्पन्न गर्नुपर्छ ।
चीनको उक्त कम्पनीले चीनमा निर्माण भइरहेका प्रसारण लाइनमध्ये ८६ आयोजनाको डीपीआर निर्माण गर्छ । यसअघि नेपाल विद्युत् प्राधिकरण र कर्पोरेसनबीच आयोजना अध्ययनका लागि सहमति भइसकेको छ ।
एकै ठाउँमा उच्च क्षमताका आठ ओटा प्रसारण लाइन जोड्नगरी उक्त प्रसारण लाइन निर्माण हुनेछ । गल्छीदेखि १२ किलोमिटरमाथि पर्ने रातमाटेमा चार सय र दुई सय २० केभीका नौ ओटा प्रसारण लाइन जोड्न सबस्टेसन बनाउन लागिएको गल्छी-रसुवागढी-केरुङ प्रसारण लाइन निर्माण हुनेछन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसनको ५० अर्ब रुपैयाँ अनुदान र ऋणमा बन्न लागेको विद्युत् सबस्टेसन र प्रसारण लाइन रातमाटेमै गएर जोडिने छ । चीनबाट आउने चार सय केभीको गल्छी-रसुवागढी-केरुङ पनि रातमाटेमै आएर जोडिने र देशभित्रै बन्ने आठ ओटा उच्च क्षमताका प्रसारण लाइन पनि त्यसैमा जोडिएर रातमाटे देशकै ठूलो विद्युत् हबको रुपमा विकास हुने प्रमुख आत्रेयले बताए ।
खासगरी ४०० केभी क्षमताका पाँच ओटा र २२० केभी क्षमताका चार ओटा प्रसारण लाइन निर्माण भई रातमाटेमा जोडिनेछन् । रातमाटेमा बन्ने सबस्टेसन र अन्य स्वदेशमा बन्ने प्रसारण लाइन मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहयोगमा नै बन्नेछन् ।
चीनको ल्हासादेखि रातमाटे जोड्ने ४०० केभी, लप्सीफेदीदेखि रातमाटे आउने ४०० केभी, रातमाटे-दमौली-न्यु बुटवल जाने ४०० केभी र रातमाटेबाट हेटौँडा जोड्ने ४०० केभी प्रसारण लाइन रातमाटे सबस्टेसनमै जोडिनेछन् । त्यस्तै १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणपश्चात् ४०० केभीको अर्को प्रसारण लाइन पनि जोड्न सकिने सम्भावना देखिएको छ ।
त्यसैगरी त्रिशूली ३ ‘बी’बाट रातमाटे जोड्ने २२० केभी प्रसारण लाइन, धादिङ-तातोपानी-बोरुङ २२० केभी प्रसारण लाइन, बोरुङ-रातमाटे २२० केभी र मस्र्याङ्दीदेखि काठमाडौं जोड्ने प्रसारण लाइनलाई पनि रातमाटे सबस्टेसनमै लैजाने गरी सर्भे भएको आत्रेयको भनाइ छ ।
प्रसारण लाइन निर्माणका लागि सबै प्रसारण लाइन जोडिने सबस्टेसन रातमाटेमा झन्डै ६२५ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । त्यसैगरी रातमाटे-दमौली-न्यु बुटवल प्रसारण लाइन निर्माणका लागि २५ बिघा जग्गा लिइसकिएको छ । प्रसारण लाइन निर्माणका लागि सबैभन्दा ठूलो समस्या जग्गा भएकाले पनि अन्य प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने जग्गा कुन दरमा लिने भन्ने कुनै टुङ्गो लागेको छैन । मिलेनियम कर्पोरेसनले मुआब्जासम्बन्धी सबै जिम्मा नेपाल विद्युत् प्राधिकरणलाई दिएको थियो ।
हाल चिलिमे आयोजनाअन्तर्गतका रसुवागढी, सान्जेन, रसुवा भोटेकोसी तथा तल्लो सान्जेन जलविद्युत् आयोजना निर्माणका चरणमा छन् । ती आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली र चिलिमे करिडोरमा जोडिने छ । दुवै करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनको रुपमा गल्छी-रसुवागढी-केरुङ प्रसारण लाइनमा जोडिने छ ।
सुरुमा सम्भाव्यता अध्ययन गर्दा गल्छीमा सबस्टेसन बनाउने निर्णय भए पनि पछि गल्छीदेखि १२ किलोमिटरमाथि रातमाटेमा सबस्टेसन बनाउने सहमति भएपछि प्रसारण लाइनको दूरी घटेको छ । अहिले गल्छीदेखि केरुङ बोर्डरसम्म ७० किलोमिटरको दूरी छ ।
त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तथा नेपाल र चीनबीच विद्युत् लेनदेन गर्न यो प्रसारण लाइन बन्ने प्राधिकरणका निर्देशक बज्रभूषण चौधरीले बताए । उनले विगत डेढ वर्षदेखि आयोजनाको अध्ययन भइरहेको र आगामी ६ महिनाभित्र पूर्वसम्भाव्यता अध्ययनको काम सम्पन्न हुनुपर्ने बताए ।
सरकारले दुईदेशीय प्रसारण लाइन निर्माणमा जोड दिए पनि रसुवागढी-गल्छी अन्तरदेशीय प्रसारण लाइन निर्माण तोकिएकै समयमा बन्छ भन्नेमा प्राधिकरणकै कर्मचारी ढुक्क छैनन् । ‘अध्ययनलगायतका काम भइरहेका छन्’ प्राधिकरणका निर्देशक चौधरीले भने, ‘चिनियाँ सहयोगमा बन्ने प्रसारण लाइन हो, कहिले बनिसक्छ भन्न सक्दैनौं ।’
चीनको नाका केरुङदेखि गल्छीसम्म जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आयोजनाले १० अर्ब लागत इस्टिमेट गरेको छ ।