न्यादी जलविद्युत् आयोजना बनाउन संस्थापकबाट ५४ करोड उठाउँदै बीपीसी

पानीको बहावमा आधारित (रन अफ दी रिभर) न्यादी आयोजनाको अनुमानित लागत करिब ६ अर्ब रुपैयाँ छ । आयोजना लमजुङको बाहुनडाँडामा पर्छ । आयोजना निर्माण २०७६ साल भित्र सम्पन्न गर्ने लक्ष लिइएको छ ।

काठमाडौं । बुटबल पावर कम्पनी (बीपीसी) अन्तर्गतको न्यादी हाइड्रोपावर लिमिटेडले ३० मेगावाटको न्यादी आयोजनाका लागि संस्थापक लगानीकर्ता (प्रमोटर) बाट पैसा उठाउने भएको छ ।

संस्थापक सेयरधनीलाई ५४ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेर ५४ करोड रुपैयाँ संकलन गर्न लागेको हो । कम्पनीले संस्थापक सेयरधनीबाट आफनो स्वामित्वमा रहेको रकम बुझाउन अनुरोध गरेको छ ।

बीपीसीले सहायक कम्पनी न्यादीमार्फत आयोजनाको निर्माण गरिरहेको छ ।
आयोजनामा एभरेष्ट बैङ्कको अगुवाईमा नविल बैङ्क, ग्लोबल आइएमई बैङ्क, हिमालयन बैङ्क, सनराइज बैङ्क र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सहवित्तीयकरणमा ४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ६० करोड रुपैयाँ संस्थापकको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

कम्पनीमा बीपीसीको ९७ प्रतिशत स्वामित्व छ । न्यादीेले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने छ । पानीको बहावमा आधारित (रन अफ दी रिभर) न्यादी आयोजनाको अनुमानित लागत करिब ६ अर्ब रुपैयाँ छ ।

आयोजना लमजुङको बाहुनडाँडामा पर्छ । आयोजना निर्माण २०७६ सालभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बाहुनडाँडाको नाइचे नजिकै बाँध बाँधी ४ किलोमिटर सुरुङबाट पानी प्रवाह गरेर मर्स्याङ्दी गाउँपालिकाको वडा नं ६ डिहीमा रहेको गृहबाट पानी खसालेर १६ करोड ८५ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजना निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेडले गरिरहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानियहरुलाई प्रवद्र्धक कम्पनी न्यादीले १० प्रतिशत अर्थात १५ करोड र सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बरारबको आईपीओ निष्कासन गर्नेछ ।