५.२४ प्रतिशत ब्याजमा सरकारले २०८ करोड आन्तरिक ऋण उठायो

अधिकतम ९.३९ र न्युनतम ४.६५ दर प्रस्ताव भएकोमा औसत ५.२४ प्रतिशत कायम भएको राष्ट्र बैङ्कका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

काठमाडौं । सरकारले महंगो ब्याजमा आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैङ्कले एक वर्षका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी विल्स निष्कासन गर्दा औसत ५.२४ प्रतिशत ब्याजमा २ अर्ब ८ करोड रुपैयाँ मात्र बिक्री भएको छ ।

अधिकतम ९.३९ र न्युनतम ४.६५ दर प्रस्ताव भएकोमा औसत ५.२४ प्रतिशत कायम भएको राष्ट्र बैङ्कका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यो ब्याजदर अन्तर बैङ्क कारोबार भन्दा कम हो । अन्तर बैङ्क ब्याजदर ६ प्रतिशत हारहारीमा छ ।

सरकारले आर्थिक वर्षको अन्तिममा आएर ट्रेजरी विल्स, विकास ऋणपत्र र नागरिक वचतपत्र वित्तीय औजारमार्फत ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भएको छ । सरकारले चालु आर्थिक वर्षमा १७५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा करिव आधा मात्र उठाउन लागेको हो । हालसम्म सरकारले ट्रजरी विल्स मात्र नविकरण गर्दै आएको छ ।