उच्च अदालत पाटनले गर्यो एनसीसी बैङ्कको पक्षमा फैसला, सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर वितरणको बाटो खुल्यो

अदालतले बाटो खोलेकाले २१ प्रतिशतसम्म बोनस सेयर वितरण गर्न सकिने एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । आउँदो असारभित्र दुई वर्षको वार्षिक साधारणसभा गरेर बोनस सेयर वितरण गर्ने उनले जानकारी दिए ।

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कका सेयरधनीलाई २ आर्थिक वर्षको लाभांश वितरण गर्न बाटो खुलेको छ । एनबी ग्रुपले एनसीसीकाविरुद्ध दायर गरेको मुद्धालाई उच्च अदालत पाटनले खारेज गरेपछि लाभांश वितरणको बाटो खुलेको हो ।

मंगलबार उच्च अदालतका मुख्य न्यायधीश कुमार चुँडाल र न्यायधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठले हालेको सबै मुद्धालाई खारेज गरी लाभांश वितरणको बाटो खुला गरेको हो । एनबी ग्रुपले वार्षिक साधारणसभा, मर्जरमा जान र पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्नलगायत एनसीसीविरुद्ध आधादर्जन मुद्धा दायर गरेको थियो ।

अदालतले बाटो खोलेकाले २१ प्रतिशतसम्म बोनस सेयर वितरण गर्न सकिने एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । आउँदो असारभित्र दुई वर्षको वार्षिक साधारणसभा गरेर बोनस सेयर वितरण गर्ने उनले जानकारी दिए ।

अदालतको निर्णय पाउन साथ प्रक्रिया अघि बढाउने उनले सुनाए । आर्थिक वर्ष ०७२/०७३ सम्मको १९ औं वार्षिक साधारणसभा गरेको एनसीसीले मुद्दाका कारण २० र २१ औं साधारणसभा गर्न सकेको छैन । दुई वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्तावसहित लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा बुझाएको छ ।

बैङ्कले आर्थिक वर्ष ०७३/०७४ मा १५ प्रतिशत र गत आर्थिक वर्ष ०७४/०७५ मा ६ प्रतिशतसम्म बोनस सेयर दिने अडिट रिपोर्टमा उल्लेख छ । सञ्चालक समितिले पारित गरेको छैन । केन्द्रीय बैङ्कले स्वीकृति दिएपछि मात्र उसले वितरण गर्न पाउने छ । एनसीसीले मर्जर गरेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैङ्कको २ अर्ब २० करोड रुपैयाँ खराब कर्जामध्ये एनसीसीले १ अर्ब २० करोड असुल गरेको छ ।

६० करोडको अचल सम्पत्ति लिलामी गरेर लिएको र ४० करोड रुपैयाँ नउठ्ने देखिएको अध्यक्ष न्यौपानेले बताए । समयमा साधारणसभा नगर्ने र न्यूनतम ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउनेमा एनसीसी मात्र भएको छ । ४० प्रतिशत हकप्रद सेयर निष्कासनपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

न्युनतम पुँजी पुर्याउन अझै ९९ करोड रुपैयाँ बाँकी छ । बैङ्कले दुई आर्थिक वर्षको बोनस वितरणपछि पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । न्यौपानेले बैङ्कको पुँजी ८ अर्ब रुपैयाँ पुगिसकेको तर साधारणसभाबाट स्वीकृति हुन मात्र बाँकी रहेको बताए । एनसीसीमा धेरै स्वामित्व भएको एनबी समूह र निर्मल प्रधान समूहबीचको विवाद उत्कर्षमा पुगेपछि राष्ट्र बैङ्कले २०७० साल माघ २१ गते सञ्चालक समिति भंग गर्दै हालका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको नेतृत्वमा तीन जना सञ्चालक नियुक्त गरेर पठाएको थियो ।

समितिले ३ वर्षपछि २०७३ पुस १८ गते व्यवस्थापन हस्तान्तरण गरेको हो । राष्ट्र बैङ्कले एनसीसीसँग इन्फास्ट्रक्चर डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट र इन्टरनेसनल डेभलपमेन्ट बैङ्कलाई प्राप्ति (एक्वायर) गराएको हो । हकद सेयर खरिद नरेपछि एनबी ग्रुपपको एनसीसीमा हिस्सा साढे ८ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

यस्तै २०७४/०७५ मा घटेर १ अर्ब ७ करोड रुपैयाँमा झरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एनसीसीले १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ । एनसीसीले ८४ करोड रुपैयाँ सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने देखिएको छ ।