मेलम्ची अब फास्ट ट्र्याकमा

काठमाडौं । लामो सयमदेखि अन्योलमा रहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना विशेष अवस्थामा फास्ट ट्र्याकमै बाँकी काम सम्पन्न हुने भएको छ । एक हप्ताभित्र विवाद र समस्या हटाई मन्त्रिपरिषद्मार्फत स्वीकृति गराई नेपाली ठेकेदार कम्पनीमार्फत नै बाँकी काम गराउने निर्णय अघि बढेको खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले बताए । संसद्को विकास तथा प्रविधि समितिको छलफल कार्यक्रममा...

काठमाडौं । लामो सयमदेखि अन्योलमा रहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना विशेष अवस्थामा फास्ट ट्र्याकमै बाँकी काम सम्पन्न हुने भएको छ । एक हप्ताभित्र विवाद र समस्या हटाई मन्त्रिपरिषद्मार्फत स्वीकृति गराई नेपाली ठेकेदार कम्पनीमार्फत नै बाँकी काम गराउने निर्णय अघि बढेको खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले बताए ।

संसद्को विकास तथा प्रविधि समितिको छलफल कार्यक्रममा सचिव शर्माले मेलम्ची आयोजनामा बाँकी रहेका काम विभिन्न ससाना ८ प्याकेज बनाएर नेपाली निर्माण ठेकेदारमार्फत नै काम सम्पन्न गराउने बोर्डले निर्णय गरिसकेको उनले बताए । प्रधानमन्त्री केपी ओली विदेश भ्रमणबाट फर्किएलगत्तै आयोजनाको प्रस्ताव मन्त्रिपरिषद्मा लगिने उनको भनाइ छ । मेलम्चीको बाँकी काम पूरा गर्न ३० करोड रुपैयाँ लाग्छ ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टेस्ट्री (सीएमसी)ले कमजोर वित्तीय क्षमता देखाउँदै साइट छाडेपछि अहिले मेलम्ची आयोजना अन्योलमा छ । छलफलमा समितिका सदस्य तथा सांसदहरुको जवाफमा मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको विवाद अब छिट्टै समाधान गरी एक वर्षभित्रै उपत्यकामा पानी ल्याइने बताइन् ।

छलफलमा सहभागी समिति सदस्य तथा सांसदहरूले पछिल्लो समय खानेपानी आयोजनामा देखिएका समस्या, आगामी वर्षमा अघि सारिएका आयोजना र मेलम्चीको अन्योलबारे प्रश्न उठाएका थिए । समिति सभापति कल्याणी खड्काले चालू आर्थिक वर्षमा खानेपानी आयोजना निर्माणमा देखिएका समस्या र मेलम्चीको विवाद छिट्टै टुङ्ग्याई आयोजनालाई पुनः सुरु गर्न निर्देशन दिइन् ।