देवघाट क्षेत्र विकास समितिद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि १० करोड ८८ लाख बजेट माग

चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । ‘यस वर्ष पूँजीगततर्फ ७५ लाख र चालूतर्फ २० लाख बजेट निकासा भएको हो,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने, यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो ।’

भरतपुर । देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । ‘यस वर्ष पूँजीगततर्फ ७५ लाख र चालूतर्फ २० लाख बजेट निकासा भएको हो,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने, यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो ।’

देवघाटमा रहेका १२५ योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उनको माग छ । पौडेलले भने, ‘देवघाट क्षेक्र सरकारको नीति कार्यत्रम र बजेटमा प्रथामिकतामा अहिलेसम्म परेन, देवघाटको विकासका लागि छुट्टै ऐनको अभावमा समस्या खड्किएको छ ।’

‘देवघाटको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न रु छ अर्ब आवश्यक पर्छ, यस वर्ष नीति तथा कार्यक्रममा देवघाटलाई रामायण सर्किटका रूपमा विकास गर्ने भनेर सम्बोधन गरिएको छ, यसले केही आशा जगाएको छ’, उनले भने ।

गुरुयोजनाअनुसार काम सम्पन्न गर्न गण्डकी प्रदेशबाट रु एक अर्ब, प्रदेश नं ३ बाट एक अर्ब तथा भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबाट रु एक अर्ब बजेट विनियोजन गर्न अनुरोध गरेको पौडेलले बताए । तीन अर्ब बजेट केन्द्र सरकारमार्फत विनियोजन गरेर बाँकी काम सम्पन्न गर्नुपर्ने उनको भनाई छ ।

 विसं २०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको छ । दश वर्षको अवधिमा समग्र योजनाको जम्मा २५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १० वर्षमा ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको पौडेलले बताए ।