कर्जा सस्तो हुँदै, सबैभन्दा कम राष्ट्रिय वाणिज्य र महंगो सेञ्चुरी कमर्शियल बैङ्कको कसको आधारदर कति (सूचिसहित)

राष्ट्रिय वाणिज्यको आधारदर ५.३८ प्रतिशत छ । ४ प्रतिशत प्रिमियम थप गर्दा पनि वाणिज्य बैङ्कबाट औसत ९ प्रतिशत ब्याजमा कर्जा पाइने देखिन्छ ।

काठमाडौं । सबैभन्दा सस्तो ब्याजदर सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको देखिएको छ । २८ ओटै वाणिज्य बैङ्कले सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा राष्ट्रिय वाणिज्यको आधारदर (वेसरेट) सबैभन्दा कम भएकाले उसले दिने कर्जाको ब्याजदर सस्तो भएको हो ।

राष्ट्रिय वाणिज्यको आधारदर ५.३८ प्रतिशत छ । ४ प्रतिशत प्रिमियम थप गर्दा पनि वाणिज्य बैङ्कबाट औसत ९ प्रतिशत ब्याजमा कर्जा पाइने देखिन्छ । राष्ट्रिय वाणिज्यको गत पुससम्म आधारदर ६.२० प्रतिशत थियो । अघिल्लो ३ महिनाको भन्दा आधारदर कम भएको छ ।

सबैभन्दा महंगो ब्याजदर सेन्चुरी कमर्शियल बैङ्कको छ । सेञ्चुरीको आधारदर ११.३२ प्रतिशत छ । सेन्चुरीले ४ प्रतिशत प्रिमियम जोड्दा औसत ब्याजदर १५ प्रतिशत हारहारीमा पुग्ने छ । सेञ्चुरीको बढी भएपनि दोस्रो त्रैमाशको भन्दा घटेको छ । उसको दोस्रो त्रैमाशमा आधारदर ११.५० प्रतिशत थियो ।

राष्ट्रिय वाणिज्यपछि सस्तो ब्याजदर नेपाल बैङ्क देखिएको छ । नेपाल बैङ्कको आधारदर ६.९२ प्रतिशत छ । नेपाल बैङ्कपछि स्ट्याण्डर्ड चाटर्ड बैङ्कको ७.७४, नविल बैङ्कको ७.९९, एभरेष्ट बैङ्कको ८ प्रतिशत आधारदर रहेको छ । ११ प्रतिशतमाथि आधारदर हुनेमा सेञ्चुरीपछि सिभिल बैङ्कको ११.२०, कृषि विकास बैङ्कको ११.१६ र कुमारी बैङ्कको ११.०२ प्रतिशत छ । ११ प्रतिशत भन्दा कम आधारदर हुनेमा नेपाल इन्भेष्टमेन्ट बैङ्कको ८.५४,हिमालयन बैङ्कको ९.१०, प्रभु बैङ्कको ९.१६, एनआईसी एसिया बैङ्कको ९.३०, सानिमा बैङ्कको ९.३१, ग्लोबल आईएमई बैङ्कको ९.६०, नेपाल एसबीआई बैङ्क ९.७३ रहेका छन् ।

यस्तै एनएमबी बैङ्कको ९.९५, प्राइम कमर्शियल बैङ्कको १०.२०, मेगा बैङ्कको १०.३०, सिद्धार्थ बैङ्कको १०.३७, सनराइज बैङ्कको १०.४३, जनता बैङ्कको १०.५२, माछापुच्छ्रे बैङ्कको १०.५२, सिटिजन्स बैङ्कको १०.५८, नेपाल बंगलादेश बैङ्कको १०.६९, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको १०.८६ प्रतिशत छ ।

निक्षेप लागत (कस्ट अफ फण्ड), अनिवार्य नगद अनुपात (सीआरआर),वैधानिक तरलता अनुपात (एसएलआर) र सञ्चालन खर्च जोडेर आधार दर निर्धारण गरिन्छ । आधारदर जति कम भयो कर्जाको ब्याजदर त्यति नै सस्तो हुन्छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैङ्कको आधारदर घटेर औसत ९.६५ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैङ्क अनुसन्धन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउछन् । उनका अनुसार अघिल्लो वर्ष १०.३० प्रतिशत थियो ।

यो दर फागुनको भएकाले नयाँ दरको गणनाको काम भइरहेको र ९ प्रतिशत हारहारीमा हुन सक्ने उनको अनुमान छ । बैंकहरुले निक्षेप संकलनको तुलनमा कर्जा लगानी आक्रमक रुपमा विस्तार गरेपछि पछिल्लो ३ वर्षमा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) संकट बढेपछि बैंकहरुले महंगोमा निक्षेप उठाउँदा आधार दर बढेको हो । केन्द्रीय बैङ्कका अनुसार गत फागुनसम्म कर्जाको औसत ब्याजदर १२.३३ प्रतिशत छ ।