सीईओ रत्नराज बज्राचार्यले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उनलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।
काठमाडौं । सनराइज बैङ्कले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी आशा राणा अधिकारीलाई दिएको छ । सीईओ रत्नराज बज्राचार्यले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उनलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।
३० वर्षभन्दा बढी समय वित्तीय क्षेत्रमा सक्रिय उनले सनराइजमा सुरुबाटै काम थालेकी थिइन् । ११ वर्षअघि सहायक महाप्रबन्धकबाट सनराइज छिरेकी राणाले जेठ १ गते बुधबारबाटै कामु जिम्मेवारी लिएको बैङ्कले जनाएको छ ।
सनराइजमा आउनुअघि उनले हिमालयन बैङ्कमा १४ वर्ष बिताएकी थिइन् । त्यसअघि उनले साढे ६ वर्ष राष्ट्रिय वाणिज्य बैङ्कमा काम गरेकी थिइन् ।
त्रिभुवन विश्वविद्यालयको एमबीएमा ‘गोल्ड मेडलिस्ट’ उनले महेन्द्र विद्याभूषणसमेत पाएकी छिन् भने अमेरिकाको क्यालिफोर्नियास्थित एक बैङ्कमा पनि काम गरेकी थिइन् ।