कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न तटबन्ध निर्माण

पहिलो चरणमा ३०० थान ग्याबियन पर्खाल लगाउन ४० लाख रुपैयाँमा सम्झौता भएकोमा कार्यालयको सहमतिमा थप १०० थान ग्याबियन लगाएको अध्यक्ष सुवेदीले बताए ।

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा नदी नियन्त्रण योजना निर्माण भएको छ । रुपाताल एकीकृत संरक्षण परियोजनाको सहयोगमा उपभोक्ता समितिमार्फत् म्याग्दी र कालीगण्डकी नदीको कटानको चपेटामा परेको खबरामा ग्याबियन पर्खाल निर्माण गरिएको हो ।

कालीगण्डकी र म्याग्दी नदीको दोभान आसपासका क्षेत्रमा १५० मिटर दूरीमा ४०० थान ग्याबियन पर्खाल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष कमल सुवेदीले जानकारी दिए। पहिलो चरणमा ३०० थान ग्याबियन पर्खाल लगाउन ४० लाख रुपैयाँमा सम्झौता भएकोमा कार्यालयको सहमतिमा थप १०० थान ग्याबियन लगाएको अध्यक्ष सुवेदीले बताए । कूल लागतको दश प्रतिशत जनसहभागितामा योजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

पर्खाल निर्माण भएपछि खबराको कटान र भसभसेको पहिरो नियन्त्रणमा सहयोग पुगेको छ । करीब १०० घरधुरी र खबरास्थित कारागार शाखा म्याग्दीको संरक्षणका लागि तटबन्ध गरिएको हो । बेनी बजार संरक्षण आयोजनाअन्तर्गतनै खबरामा पनि नदी नियन्त्रणको काम गरिएको उपभोक्ता समितिले जनाएको छ ।

बेनी बजार संरक्षणका क्रममा कालीगण्डकीबाट ढुङ्गा निकालिँदा खबरामा कटानको जोखिम बढेको भन्दै स्थानीयले योजना माग गरेका थिए । स्थानीयवासीको माग र आवश्यकताका आधारमा परियोजनाले तटबन्ध बनाउन बजेट व्यवस्थापन गरेको हो । रासस