१२३ बैङ्क तथा वित्तीय संस्थाको अस्तित्व समाप्त, २० ओटा मर्जर र प्राप्तिको प्रक्रियामा (सूचिसहित)

बैङ्क तथा वित्तीय संस्थाको संख्या अधिक भएको भन्दै केन्द्रीय बैङ्कले वित्तीय स्थायित्व सुदृढीकरण गर्न २०७२ को मौद्रिक नीतिमा चुक्तापुँजी ४ गुणासम्म बढाएर मर्जर र प्राप्तिको प्रक्रिया सुरु गराएको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एक आपसमा गाभ्ने (मर्जर) र प्राप्ति (एक्विजिसन) प्रक्रिया सुरु गरेपछि १२३ बैङ्क तथा वित्तीय संस्थाको अस्तित्व समाप्त भएको छ । यसबीचमा १२३ को इजाजत खारेज भई ४२ ओटा कायम भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाको संख्या अधिक भएको भन्दै केन्द्रीय बैङ्कले वित्तीय स्थायित्व सुदृढीकरण गर्न २०७२ को मौद्रिक नीतिमा चुक्तापुँजी ४ गुणासम्म बढाएर मर्जर र प्राप्तिको प्रक्रिया सुरु गराएको हो । त्यसबेला वाणिज्य बैङ्कको ८ अर्ब, राष्ट्रियस्तरको विकास बैङ्कको २ अर्ब ५० करोड र वित्त कम्पनीको ८० करोड रुपैयाँ न्युनतम पुँजी पुर्याएको थियो ।

वाणिज्य बैङ्कको संख्यामा कमी नआए पनि विकास बैङ्क र वित्त कम्पनीको धेरै घटेको छ । हालसम्म वाणिज्य बैङ्क २८, विकास बैङ्क ३२, वित्त कम्पनी २४ र लघुवित्तको संख्या ९१ छ ।

बैङ्क अफ काठमाडौं लिमिटेडले लुम्बिनी बैङ्कलाई, प्रभु बैङ्कले किस्ट र ग्राण्ड बैङ्क, ग्लोबल आईएमई बैङ्कले कमर्ज एण्ड ट्रष्टलगायत आधादर्जन विकास बैङ्क र वित्तीय संस्थालाई गाभेको छ । माछापुच्छ्रे बैङ्कले स्ट्यान्डर्ड फाइनान्स लिमिटेडलाई, एनआईसी एसिया बैङ्कले बैङ्क अफ एसिया लिमिटेडलाई, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले इन्टरनेसनले डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट र इन्फास्ट्रक्चर डेभलपमेन्ट बैङ्कलाई गाभेको थियो ।

यसैगरी एनएमबी बैङ्कले क्लिन इनर्जी डेभलपमेन्ट बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्कले एनआईडीसी डेभलपमेन्ट बैङ्क, जनता बैङ्कले सिद्धार्थ डेभलपमेन्ट बैङ्क र त्रिवेणी विकास बैङ्कलाई गाभेको थियो । मेगा बैङ्कले टुरिजम डेभलपमेन्ट बैङ्कलाई गाभेको छ । सिद्धार्थ बैङ्कले युनिभर्सल डेभलपमेन्ट बैङ्क र सिभिल बैङ्कले इन्टरनेसनल लिजिङ्ग एन्ड फाइनान्सलगायत २ ओटा फाइनान्स कम्पनीलाई प्राप्ति गरेको थियो ।

राष्ट्र बैङ्कको दवावमा फेरि मर्जर र प्राप्ति

राष्ट्र बैङ्कको दवाव बढेपछि बैङ्क तथा वित्तीय संस्था मर्जर र प्राप्तिमा जान थालेका छन् । पछिल्लो समयमा २० ओटा वित्तीय संस्थाले मर्जर र प्राप्तिमा जान एमओयू गरेका छन् । यीमध्ये ९ ओटा लघुवित्त संस्था छन् । केन्द्रीय बैङ्ले पुँजी बढाउन हकप्रद सेयर निष्कासन र बोनस सेयर दिन रोक लगाएपछि लघुवित्त संस्था मर्जरमा जान थालेका हुन । बैङ्क तथा वित्तीय संस्थाले मर्जर टोली बनाएर छलफल अघि बढाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैङ्कले जेविल्स फाइनान्स लिमिटेड र ग्लोबल आईएमई बैङ्ले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएका छन । यसका लागि प्रक्रिया अघि बढेको छ ।

बुटवलमा रहेका साइन रेसुङा डेभलपमेन्ट बैङ्क र पूर्णिमा विकास बैङ्कले मर्जरमा जान एमओयू गरेका छन । साइन रेसुङ्गाले नेपालगञ्जमा रहेको भागर्व विकास बैङ्कलाई प्राप्ति गर्ने भएको छ । यस्तै एनएमबी बैङ्कले ओम डेभलपमेन्ट बैङ्कलाई प्राप्ति गर्नका लागि एमओयू भएको छ ।

नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी माइक्रोफाइनान्स लिमिटेडबीच पनि मर्जरमा जान एमओयू भइसकेको छ । तिनाउ डेभलपमेन्ट र मिसन डेभलपमेन्ट बैङ्कबीच एमओयू भएको छ । तिनाउ र मिसनले मर्जरमा जान जेठ १७ गते विशेष साधारणसभा बोलाएका छन् ।

काभ्रेको बनेपामा रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, झापामा रहेको नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड र कैलालीमा रहेको किसान लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेका छन् । मर्जरमा जान ३ ओटै संस्थालेअएमओयूमा हस्ताक्षर गरेका छन ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरमा जाने सहमति भएको छ । त्यसैगरी साधना लघुवित्त वित्तीय संस्था र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि मर्जरका लागि शैद्धान्तिक सहमति नेपाल राष्ट्र बैङ्कबाट लिइसकेका छन ।