काठमाडौं उपत्यका अब बिजुली ताररहित, थप ५ स्थानमा विद्युत वितरण अण्डरग्राउण्ड हुँदै

विद्युत प्राधिकरणले काठमाडौंका पाँच स्थानमा विद्युत् प्रसारण, वितरण र क्षमता विस्तार आयोजनामार्फत काम अघि बढाउन लागेको हो । वितरणलाई भूमिगत बनाउनका लागि डिजाइन तयार, उपकरण आपूर्ति जडान र सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) को आह्वान गरेको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँच स्थानको विद्युत् वितरण प्रणाली भूमिगत (अन्डग्राउन्ड डीस्ट्रीब्युसन) गर्ने भएको छ । प्राधिकरणले एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा पुनः पाँच स्थान, कीर्तिपुर, कुलेश्वर, वानेश्वर, बालाजु र जोरपाटीमा रहेको वितरण केन्द्रलाई पनि भूमिगत गर्न लागेको हो । यसअघि प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रलाई भूमिगत वितरणको काम सुरु गरिसकेको छ ।

विद्युत प्राधिकरणले काठमाडौंका पाँच स्थानमा विद्युत् प्रसारण, वितरण र क्षमता विस्तार आयोजनामार्फत काम अघि बढाउन लागेको हो । वितरणलाई भूमिगत बनाउनका लागि डिजाइन तयार, उपकरण आपूर्ति जडान र सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) को आह्वान गरेको छ ।

बोलपत्र पेश गर्ने अन्तिम दिन जुलाइ ११ अर्थात असार २६ गते दिउँसो १२ बजेलाई तोकिएको प्राधिकरणले जानकारी गराएको छ । एडीबीको खरिद प्रक्रियाअनुसार बोलपत्रदाताले सिङगल सटेज ‘टु’ इनभेलोप पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ । वार्षिक ३ करोड ८० लाख डलर बराबरको काम लगातार ३ वर्ष गरेको हुनुपर्ने, ७ वर्षभित्र एउटा अण्डरग्राउण्डको काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

अव्यवस्थित प्रसारण लाइनका कारण कुरुप बनेको काठमाडौ उपत्यकाको अब विस्तारै सुन्दर हुने देखिएको छ । रत्नपार्क र महाराजगञ्ज प्रसारण प्रणालीलाई ३० महिनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ । ठेकेदार केईआई इन्डष्ट्रिज लिमिटेडले काम गरिरहेको छ । प्राधिकरणले गत फागुन ६ गते ठेकेदार छनोट गरेको थियो ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न ३ अर्ब ५७ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यस्तै कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करिब ३ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सम्झौता गरिएको छ । दुई वितरण केन्द्रअन्तर्गतका ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान हुनेछ ।

वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक मिटर जडान गर्ने योजना छ ।