नेपाल एसबीआई बैङ्कका तर्फबाट बैङ्कका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनीष मोदीले राजधानीमा एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । नेपाल एसबीआई बैङ्क र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल एसबीआई बैङ्कका तर्फबाट बैङ्कका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनीष मोदीले राजधानीमा एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब एसबीआई बैङ्कका ग्राहकले इन्टरनेट बैङ्किङ सेवा प्रयोग गरी ‘खल्ती’को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहक लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ ।
उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनीष मोदीले भने, ‘हामी नेपाल एसबीआई बैङ्कसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब नेपाल एसबीआई बैङ्कका ग्राहकले बैङ्कबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन ।’ ग्राहकले इन्टरनेट बैङ्किङ सेवा प्रयोग गरी आफ्नो बैङ्क खाताबाट सिधै ‘खल्ती’को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्ने उनले बताए । ‘नगद पैसाबिना सरल भुक्तानीको यो एउटा सुरुआत हो,’ उनले भने, ‘यो पार्टनरशिपसँगै हामीले नगद पैसाबिनाको नेपालका लागि एउटा अर्को पाइला अगाडि सारेका छौँ ।’
कार्यक्रममा नेपाल एसबीआई बैङ्कका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागरले प्रविधिको प्रयोग गरेर मानिसका विभिन्न बैङ्किङ तथा वित्तीय समस्या समाधान गर्न खोजिराखेको बताए । उनले यसको माध्यमबाट ग्राहकले मोबाइलबाटै सबै किसिमका सेवा प्राप्त गर्न सक्ने बताए ।
‘यो सहकार्यपश्चात् हाम्रा ग्राहकले खल्ती प्रयोग गरेर सहजतापूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ,’ उनले भने, ‘यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेका छौँ भन्ने महसुस गरेका छौँ ।’