महालक्ष्मी विकास बैङ्कको २५औँ वार्षिकोत्सवमा नागरिक अभिनन्दन

बैङ्कको प्रधान कार्यलयमा रजत जयन्तीको सुखद उपलक्ष्यमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो ।

काठमाडौं । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट बङ्ैकिङ् सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैङ्क लि. २०७६ जेष्ठ ७ गतेदेखि २५ औँ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा बैङकले आफ्ना ९३ ओटै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरी २५औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ ।

दरबारमार्ग, काठमाडौंस्थित बैङ्कको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख शिव घिमिरेलगायत प्रतिनिधि प्रहरीजनलाई फ्लोरोसेन्ट ज्याकेट वितरण गरेका थिए ।

यसैगरी बैङ्कको प्रधान कार्यलयमा रजत जयन्तीको सुखद उपलक्ष्यमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । बैङ्कका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले सो समारोहमा संस्कृति, पुरातत्त्व र लोक संस्कृतिको क्षेत्रमा युगान्तसम्म सत्यमोहन जोशीले गरेका अनुकरणीय योगदानको कदर गर्दै उनलाई सम्मान—पत्र तथा एक लाख रुपैयाँको चेक हस्तान्तरण गरी अभिनन्दन गरेका थिए ।