आयोजना निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जाको अख्तियारी लिन आरतीले जेठ २९ गते ३ आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले पहिलो, दोस्रो र तेस्रो साधारणसभा एकैपटक गर्न लागेको हो ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित आरती पावर कम्पनी लिमिटेडले १४.५ मेगावाटको इर्खुवाखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । आयोजना निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जाको अख्तियारी लिन आरतीले जेठ २९ गते ३ आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीले पहिलो, दोस्रो र तेस्रो साधारणसभा एकैपटक गर्न लागेको हो ।
कम्पनीले बैङ्क तथा वित्तीय संस्थाबाट १ अर्ब ८२ करोड रुपैयाँ कर्जा लिन लागेको कार्यकारी सञ्चालक प्रकाश दुलालले बताए । उनले विभिन्न बैङ्क तथा वित्तीय संस्थासँग छलफल भइरहेको जानकारी दिए । साधारणसभाबाट अनुमति पाएपछि ऋण लिने प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।
आयोजना बनाउन २ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसअनुसार ७८ करोड स्वपुँजी (इक्विटी) र बाँकी कर्जाबाट जुटाउने तयारी कम्पनीको छ । साधारणसभामा कम्पनीको अधिकृत र जारी पुँजी बढाएर ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने उनले बताए । ७० प्रतिशत कर्जा र ३० प्रतिशत इक्विटी लगानी हुने छ ।
स्वपुँजी मध्ये ५६ करोड संस्थापक र २४ करोड रुपैयाँ सर्वसाधारणमा सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीको योजना छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र पाउन बाँकी छ ।