सांसद अमनलाल मोदीले बिचौलिया बनेर कुलमानसँग ५ लाख वार्गेनिङ गरेका थिए

‘पैसा नदिए सबस्टेसन सञ्चालन गर्न नदिने भनेपछि कुलमानले ‘सबस्टेसन नचले लोडसेडिङ हुन्छ, तपाईंले गलत बोलिरहनुभएको छ, यसले तपाईंलाइ नै नराम्रो गर्नेछ’ भनेका थिए ।

काठमाडौं । नेकपा नेता तथा सांसद अमनलाल मोदी बिचौलिया बनेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट ५ लाख रुपैयाँ घुस लिने प्रयास असफल भएपछि सबस्टेशन चार्ज गर्न नदिएको खुलेको छ ।

सांसद मोदीले प्राधिकरणबाट पैसा लिन आफू निकट स्थानीय जनतालाई उठाएर कुलमानसँग पैसाका लागि बार्गेनिङ गरेका थिए । कुलमानले ५ लाख रुपैयाँ नदिएपछि मोरङको कटहरीमा बनेको सबस्टेसनबाट बिजुली आपूर्ति गर्न दिएका थिए । उनका कारण प्राधिकरणले सबस्टेसन चार्ज गर्न पाएको छैन ।

कुलमानबाट पैसा नपाउने देखेपछि मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ५ लाख रुपैयाँ दिए स्थानीयलाई मिलाइदिने आश्वासन दिएका थिए । सांसद मोदीले ५ लाख रुपैयाँ लिनका लागि बिचौलियाको भूमिका खेलेको पुष्टि भएको छ । कुलमानसँग उनले उद्योगले एक रुपैयाँ पनि सहयोग गरेनन्, ५ लाख रुपैयाँ प्रसारणलाइन आयोजनाबाट दिनुपर्यो भनेका थिए । सांसद मोदीले ५ लाख रुपैयाँ दिए स्थानीयलाई मिलाएर सबस्टेसन सञ्चालन गर्न दिने बताएका थिए ।

‘पैसा नदिए सबस्टेसन सञ्चालन गर्न नदिने भनेपछि कुलमानले ‘सबस्टेसन नचले लोडसेडिङ हुन्छ, तपाईंले गलत बोलिरहनुभएको छ, यसले तपाईंलाइ नै नराम्रो गर्नेछ’ भनेका थिए । ‘मोदीले अरुलाई पनि दिनुपर्छ । जसरी भए पनि ५ लाख रुपैयाँ मलाई दिनुस्, बाँकी काम म मिलाउँछु,’ प्राधिकरणका एक अधिकारीले भने ।

कुलमानले घुस दिनुको सट्टा ऊर्जामन्त्री वर्षमान पुनलाई जानकारी गराएपछि सांसद मोदी आक्रामक बनेका थिए । त्यस बेला कुलमान र मोदीबीच केहीबेर चर्काचर्की भएको थियो । उनले ‘तँलाई लेखा समितिमा देखाइदिन्छु’ भनेर कुलमानलाई धम्की दिएका थिए । मोदीले सङ्घीय संसद्को सार्वजनिक लेखासमितिको मङ्गलबार बैठकमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

‘पैसा नदिने उद्योगलाई किन लाइन दिने ?’ मोदीको प्रश्न थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले सरकारी संस्था भएकाले पैसा दिन नमिल्ने भनेपछि दुईबीच केही बेर भनाभनसमेत भएको थियो । मोदीले ५ लाख रुपैयाँ नदिएसम्म सबस्टेसन सञ्चालन गर्न नदिने चेतावनी दिएका थिए ।

उक्त सबस्टेसन एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा निर्मित हो । देशभर एडीबीको ऋणमा ७५ ओटा सबस्टेसन निर्माण भइरहेका छन् । सबस्टेसन २ महिनाअघि नै चार्ज हुनुपर्ने थियो । काम गर्न नदिएपछि ठेकेदारले आयोजना छाडेको छ । सबस्टेसन सञ्चालन भएन भने भोल्टेज कम हुने भएकाले त्यो क्षेत्रमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भए पनि सांसद मोदीको अगुवाइमा विद्युत आपूर्ति हुन दिइएको छैन । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ ।

स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमा समेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।