साधना लघुवित्तले आर्थिक समृद्धिलाई प्राप्त गर्ने, स्वाप रेसियो ८० कायम

प्राप्ति प्रक्रिया अघि बढाउन दुबै लघुवित्त संस्थाले जेठ २५ गते विशेष साधारणसभा बोलाएका छन् ।

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वार) गर्ने भएको छ । प्राप्ति प्रक्रिया अघि बढाउन दुबै लघुवित्त संस्थाले जेठ २५ गते विशेष साधारणसभा बोलाएका छन् ।

साधनाको प्रतिकित्ता १०० रुपैयाँ बराबर आर्थिक समृद्धिको ८० रुपैयाँमा सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) प्राप्ति हुन लागेको हो । साधनाले प्राप्ति गरेपछि आर्थिक समृद्धिका सेयरधनीको स्वामित्व १०० बाट घटेर ८० मा झर्ने छ ।

साधना गोरखा नगरपालिकाको हमटारी र आर्थिक समृद्धि भानु नगरपालिका तनहुँमा रहेको छ । सभाले दुबै संस्थाको स्वाप रेसियो, चल अचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए), प्राप्ति गर्ने विषयमा भएको समझदारीपत्र (एमओयू) लाई पारित गर्ने छ । प्राप्तिपछि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, कार्यक्षेत्र विस्तार गरेर राष्ट्रियस्तरको लघुवित्त संस्था बन्ने प्रस्ताव सभाले पारित गर्ने छ ।

नेपाल राष्ट्र बैङ्कले मर्जर र प्राप्तिमा जान दवाव दिएपछि लघुवित्त संस्था धमाधम प्रक्रिया अघि बढाएका छन् । हालसम्म ११ ओटा लघुवित्त संंस्था मर्जर र प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।