जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहुँदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् ।
रुकुमपूर्व । सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप ।जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहुँदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् ।
जिल्लामा विस्तारै नयाँ बस थपिँदै छन् तर ती बस पार्किङका लागि जिल्लामा एउटा पनि बसपार्क छैन । जिल्ला टुक्रिएपछि प्रस्ताव गरिएको नयाँ सदरमुकाम रुकुमकोटमा मान्छेको चहलपहल बढ्दै गइरहेको छ । धमाधम नयाँ संरचना बन्न थालेका छन् । बजार र सडक छेउछाउमा निर्माण सामग्री थुपारिएका छन् । जसले गर्दा पार्किङमा झन थप समस्या पर्न गएको हो ।
बसपार्क नहुँदा सडक दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ हुँदै आएका छन् । घर अगाडि र सडक छेवैमा गाडी पार्किङ गराउँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । बजारमा भएको अव्यवस्थित गाडी पार्किङले ग्राहक पसलसम्म पुग्न नसकेको छिप्रीदह बजारवासी बताउँछन् ।
“बजार र बाटोघाटोमै गाडी पार्किङ गराउँदा कहिँलेकाहीँ त मान्छे आवतजावत गर्ने ठाउँ नै हुँदैन” स्थानीय भन्छन्, “अव्यवस्थित गाडी पार्किङले बजारमा फोहर बढ्दै गएको छ ।” मुख्य बजार केन्द्र छिप्रीदह, चोक बजार, कमल दहमा फोहर बढ्दै जाँदा सदरमुकाम दुर्गन्धित बन्दै गएको छ ।
व्यवस्थित बसपार्क नहुँदा व्यवसायी समस्यामा परेको पूर्वी रुकुम यातायात समितिका सदस्य सनम गौतम (झक्कु) ले बताए । रुकुमकोटमा बसपार्क छिटै निर्माण गरिने सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । उनका अनुसार बसपार्कको लागि जग्गा छनोट गरी काम शुरु पनि गरिएको थियो । तर, त्यस जग्गामा विवाद देखिएपछि फेरि अर्को ठाउँमा उपयुक्त जग्गा छनोटको काम भइरहेको छ । रासस