नेपाल इन्भेस्टमेन्ट बैङ्कको  नाफा घटाउने यी हुन ३ ऋणी, जसले ४४६ करोड तिरेनन

इन्भेष्टमेन्ट बैङ्क स्रोतका अनुसार सीएमसीको कार्यसम्पादन जमानतको काउन्टर ग्यारेन्टीबापतको करिब १ अर्ब ९६ करोड, आरके अग्रवालको अन्नपूर्ण सुगरले १ अर्ब २५ करोड रुपैयाँ र कोइला आयातकर्ता व्यापारी मलले १ अर्ब २५ करोड रुपैयाँ ऋण नतिरेपछि खराब कर्जा बढ्दा नाफामा धक्का लागेको हो ।

काठमाडौं । तीन ओटा ठूला ऋणीबाट करिब ४ अर्ब ४६ करोड रुपैयाँ ऋण नउठेपछि नेपाल इन्भेस्टमेन्ट बैङ्कको नाफामा गम्भीर धक्का लागेको छ ।

इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमएसी), अन्नपूर्ण सुगर मिलका सञ्चालक आरके अग्रवाल र कोइला आयातकर्ता व्यापारी श्याम मलले समयमा कर्जा नतिरेपछि खराब कर्जा झन्डै ३०० प्रतिशत बढेको छ । खराब कर्जा बढेर आम्दानी रकम प्रोभिजनिङ गर्नुपर्दा इन्भेस्टमेन्टको नाफा खुम्चिएको हो ।

इन्भेष्टमेन्ट बैङ्क स्रोतका अनुसार सीएमसीको कार्यसम्पादन जमानतको काउन्टर ग्यारेन्टीबापतको करिब १ अर्ब ९६ करोड, आरके अग्रवालको अन्नपूर्ण सुगरले १ अर्ब २५ करोड रुपैयाँ र कोइला आयातकर्ता व्यापारी मलले १ अर्ब २५ करोड रुपैयाँ ऋण नतिरेपछि खराब कर्जा बढ्दा नाफामा धक्का लागेको हो ।

३ महिनामा इन्भेस्टमेन्टको खराब कर्जा बढेर ३.०४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.७६ प्रतिशत थियो । ऋण नउठेपछि बैङ्कले खराब कर्जाको ९३.१८ प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ प्रोभिजनमा राखेकाे छ ।

गत चैतसम्म बैङ्कले २ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैङ्कको नाफा २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ नाफा गरको थियो । गत आर्थिक वर्षको तुलनामा बैङकको नाफा झन्डै २८ करोड रुपैयाँ घटेको छ । गत आर्थिक वर्ष नेपाल इन्भेस्टमेन्टले ३ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नेपाल इन्भेस्टमेन्टको नाफा १० प्रतिशत घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सीएमसी काममा नफर्केपछि १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडले सीएमसीले नेपाल इन्भेस्टमेन्टमा राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ जफत गरेको थियो । सीएमसीले इटालियन अदालतबाट जमानत जफत नगर्ने आदेश दिएपछि इन्भेस्टमेन्टको पैसा उतै रोकिएको छ । सीएमसीले आयोजनाको पहिलो लटको काम सुरु नगरेपछि प्रवद्र्धक तनहुँले उसँगको ठेक्का तोडेर जमानत जफतका लागि पत्राचार गरेपछि बैङ्कले एक हप्ताभित्र भुक्तानी गर्ने गरेको थियो ।

यस्तै अन्नपूर्ण सुगर मिल र कोइला व्यापारी मलले लिएको कर्जा लामो समयसम्म नतिरेपछि खराब कर्जामा परिणत भएको हो । खराब कर्जा कम हुने बैङ्कलाई राम्रो मानिन्छ । यसले वित्तीय सुशासन र अवस्था राम्रो भन्ने सङ्केत गर्छ । खराब कर्जाको प्रतिशत जति बढी भयो, प्रोभिजनिङका कारण नाफा घटेर सेयरधनीले पाउने लाभांश कम हुन्छ । ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा नियामक नेपाल राष्ट्र बैङ्कले कारबाही गर्छ ।

केही वर्षअघि मेलम्ची खानेपानी आयोजनाको तत्कालीन ठेकेदार चाइना रेलवे १५ ब्युरो कर्पोरेसनको काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैङ्क र बैङ्क अफ काठमान्डुको १ अर्ब ५० करोड रुपैयाँ डुबेपछि यो रकम प्रोभिजनिङ गर्दा नाफामा भारी गिरावट आएको थियो । दुवै बैङ्कले डुबेको रकम उठाउन प्रयास गरिरहेका छन् ।