वाणिज्य बैङ्कहरुले बजारबाट १३४० करोड  उठाउँदै, कसले कति (सूचिसहित)

नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, प्रभु, हिमालय र माछापुच्छे बैङ्कले ऋणपत्र निष्कासन गर्न लागेका हुन् । नेपाल इन्भेस्टमेन्टले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

काठमाडौं । लगानीका लागि थप स्रोत जुटाउन ५ ओटा वाणिज्य बैङ्कहरुले १३ अर्ब ४० करोड रुपैयाँ बराबरको १३ करोड ४० लाख कित्ता ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएका छन् । ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ छ ।

नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, प्रभु, हिमालय र माछापुच्छे बैङ्कले ऋणपत्र निष्कासन गर्न लागेका हुन् । नेपाल इन्भेस्टमेन्टले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । उसले केही दिनभित्रै ऋणपत्र निष्कासन गर्ने छ ।

अन्य ४ ओटा बैङ्कले ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिइसकेका छन् । बैङ्कहरुले मुद्धति निक्षेपको भन्दा बढी ब्याजदर प्रस्ताव गरेका छन् । मुद्धति निक्षेपमा अधिकतम ९.५० प्रतिशत ब्याजदर भएकोमा ऋणपत्रमा बैङ्हरुले न्युनतम १० देखि १०.५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका हुन् ।

नेपाल इन्भेस्टमेन्टले १०.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । इन्भेष्टमेन्टको ऋणपत्र २०८२ मा परिपक्व हुने छ । एनआईसी एसियाले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डसंग स्वीकृति मागेको छ । एनआईसीले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । १० वर्षका लागि उसले ऋणपत्र निष्कासन गर्न लागेको हो ।

चालु आर्थिक वर्षमा एनआईसीले १० देखि ११ प्रतिशत ब्याजमा दुई पटक गरी ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनबाट स्रोत जुटाइसकेको छ । यो समेत गरी उसको झण्डै १० अर्ब रुपैयाँ पुग्ने छ ।

यस्तै प्रभुले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । प्रभुले वार्षिक १० प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र २०८६ मा परिपक्व हुनेछ ।

हिमालयनले पनि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । वार्षिक १० प्रतिशत ब्याज दिने गरी ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । हिमालयनको ऋणपत्र २०८३ मा परिपक्व हुने छ ।

माछापुच्छ्रेले पनि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र ल्याउने भएको छ । वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी बैङ्कले १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । बोर्डबाट स्वीकृति पाएपछि मात्र बैङ्कहरुले ऋणपत्र निष्कासन गर्न पाउने छन् ।कुल निष्कासको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थागत लगानीकर्तालाई सुरक्षित गरिएको छ ।

६ ओटा बैङ्कले निकाले १७५८ करोडको

साउन यता विभिन्न ६ ओटा बैङ्कले १७ अर्ब ५८ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरिसकेका छन् । धितोपत्र बोर्डबाट स्वीकृति पाइ निष्कासन गरिसकेका छन् ।

ऋणपत्र निष्कासन गर्नेमा एनआईसी एसिया, सानिमा, सिद्धार्थ, ग्लोबल आर्ईएमई, एनएमबी, नेपाल बंगलादेश र सनराइज बैङ्क रहेका छन् ।
बैङ्कहरुले ऋणपत्रबाट संकलन गरेको पुँजी कर्जा सापटी र कार्यलय विस्तारमा लगानी गर्दै आएका छन् । लगातार ३ वर्षदेखि बैङ्किङ्ग प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) को संकट बढेपछि विभिन्न वित्तीय औजारबाट स्रोत जुटाउने गरेका छन् । ऋणपत्रबाट संकलन हुने पुँजी सीसीडीमा गणना हुने गरेको छ ।

ऋणपत्र निष्कासन वित्तीय औजारले बैङ्कहरुको ऋण दिने क्षमता बढेको पूर्व बैङ्कर अनलराज भटट्राइ बताउछन् । ऋणपत्रले भावि दिनमा वित्तीय क्षेत्रमा जोखिम ल्याउने भएकाले यस विषयमा सोच्नुपर्ने उनको भनाई छ ।