बैङ्कमा जनताको १७ खर्ब, कसको कति ?

चालु आर्थिक वर्षको ९ महिनामा व्यक्तिगत निक्षेप १ खर्ब ७४ अर्ब ८१ करोड रुपैयाँ थप भएको नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ ।

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप ११.५ प्रतिशत बढेको छ । गत चैतसम्म बैङ्क तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप बढेर १७ खर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा व्यक्तिगत निक्षेप १ खर्ब ७४ अर्ब ८१ करोड रुपैयाँ थप भएको नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ ।
गत वर्षको सोही अवधिमा व्यक्तिगत निक्षेप १५ खर्ब २५ अर्ब २७ करोड रुपैयाँ थियो । बैङ्क तथा वित्तीय संस्थासंग ३१ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ निक्षेप छ ।

यस्तै बीमा कम्पनीहरुको २ खर्ब १५ अर्ब ३० करोड, कर्मचारी संचय कोषको ७० अर्ब ११ करोड, नागरिक लगानी कोषको ६२ अर्ब ४९ करोड रुपैयाँ बैङ्क तथा वित्तीय संस्थामा निक्षेप रहेको छ । स्थानीय सरकारको ४० अर्ब ८९ करोड, गैर बैङ्क तथा वित्तीय संस्थाको ४ खर्ब ८४ अर्ब २६ करोड, सार्वजनिक संस्थानको ३ खर्ब ६ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १९.८ प्रतिशत बढेको छ । २०७५ चैतसम्म कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६, ३३.६ र ४७.३ प्रतिशत छ ।