४० प्रतिशत हकप्रद सेयर निष्कासनपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । न्यूनतम पुँजी पुर्याउन अझै ९९ करोड रुपैयाँ बाँकी छ । दुई आर्थिक वर्षको बोनस वितरणपछि पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य एनसीसीले लिएको छ ।
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कले असार २० गतेभित्रै २ आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । एनसीसीले आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ को वार्षिक साधारणसभा एकै पटक गर्ने लागेको हो ।
गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नेपाल राष्ट्र बैङ्कमा गएको र स्वीकृत भएको एक महिनाभित्र दुई आर्थिक वर्षको साधारणसभा गरेर सेयरधनीलाई बोनस सेयर वितरण गर्ने एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । २ आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई न्यूनतम २० प्रतिशत बोनस सेयर वितरण गर्ने उनले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षको १४ प्रतिशत बोनस सेयर राष्ट्र बैङ्कले स्वीकृति गरेको छ । गत आर्थिक वर्षमा प्रस्ताव गरिएको ६ प्रतिशत बोनस सेयर स्वीकृत हुन बाँकी रहेको उनले बताए ।
‘असार २० गतेभित्रै साधारणसभा सम्पन्न गर्ने तयारीमा छांै,’ न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘राष्ट्र बैङ्कको स्वीकृतिको पर्खाइमा छौं ।’
एनबी ग्रुपले एनसीसीविरुद्ध दायर गरेको मुद्दालाई उच्च अदालत पाटनले खारेज गरेपछि साधारणसभाबाट पारित गरेर सेयरधनीलाई लाभांश वितरणको बाटो खुलेको हो ।
संस्थापक सेयरधनी एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठले हालेको सबै मुद्दालाई खारेज गरी लाभांश वितरणको बाटो खुला गरेपछि एनसीसीले वार्षिक साधारणसभाको तयारी थालेको हो । एनसीसीले मुद्दाका कारण २० र २१औं साधारणसभा गर्न सकेको छैन ।
एनसीसीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।
एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । न्यूनतम पुँजी पुर्याउन अझै ९९ करोड रुपैयाँ बाँकी छ । दुई आर्थिक वर्षको बोनस वितरणपछि पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य एनसीसीले लिएको छ ।
राष्ट्र बैङ्कले एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट र इन्टरनेसनल डेभलपमेन्ट बैङ्कलाई प्राप्ति (एक्वायर) गराएको हो ।
आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै २०७४/७५ मा घटेर १ अर्ब ७ करोड रुपैयाँमा झरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एनसीसीले १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ । एनसीसीले ८४ करोड रुपैयाँ सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने देखिएको छ ।